सेती अञ्चल अस्पताल ३ सय शैयाको हुने, पहलकदमी लिने आरजुलाई धन्यवाद
प्रकाशित २०७४ मंसिर ९ शनिबार
1k
Shares
धनगढी । सकारले धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेतृ डाक्टर आरजु राणा देउवाको विषेश पहलपछि सरकारले सेती अञ्चल अस्पताललाई तीन सय शैयाको अस्पताल बनाउने निर्णय पारित गरेको हो ।
मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले हाल एक सय ५० शैयाको अञ्चल अस्पतालको स्तरोन्नती गरी तीन सय शैयाको बनाउने निर्णय गरेको छ । यससँगै यो अस्पताल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नती हुने बाटो खुलेको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले एक साताअघि अस्पतालको निरीक्षणका क्रममा स्तरोन्नतीका लागि विशेष पहल गर्ने बताएकी थिइन।
अस्पताल ३ सय शैयाको हुने निर्णय भएपछि पहलकदमी लिने आरजुलाई स्थानियहरुले धन्यवाद दिएका छन्।
‘म प्रदेश नम्बर ७ मा शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा तीब्र विकासको आकांक्षासहित नै यहाँ“बाट चुनाव लडेकी छु’ शनिबार नेपाल मेडिकल एसोसिएसनले धनगढीमा आयोजना गरेको अन्तक्रियामा उनले भनिन–मन्त्रीपरिषद्बाट यो अस्पतालको स्तरोन्नतीका लागि निर्णय पारित गरेको छ, अब केही दिनभित्रै बजेट विनियोजन प्रक्रिया हुने छ ।
उनले स्तरोन्नतीपछि अत्याधुनिक उपचार सेवा, आइसियु कक्षलाई थप व्यवस्थित गरिने र आधुनिक र सुविधासम्पन्न प्रसुति गृहको निर्माण हुने बताइन। काँग्रेसलाई जिताउनुहोस्, हामी प्रदेश नम्बर ७ का सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई नमुना बनाउने छौं’ उनले भनिन ।
अन्तक्रियामा डोटी बुडरका गोरखबहादुर लामा, धनगढी चटकपुरका अर्जुन डगौंरा लगायतले स्तरीय उपचार सेवाको अभावका कारण बिरामीहरूले ऋण काडेर पनि भारत र राजधानीका अस्पताल धाउनु परेको अनुभव सुनाएका थिए ।
अन्तक्रियामा सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारी बमले हाल सरकारी स्तरवाट ५० सैया मात्रै रहेको र अस्पतालमा एक सय ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी रहे पनि हाल ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिइन।