मन्त्री बलायर भन्छन्–जनता आगनको भुस होइन, जता बडार्याे उतै जाने
प्रकाशित २०७४ मंसिर ९ शनिबार
167
Shares
डोटी । यातायात मन्त्री विरबहादुर बलायरले डोटीको इतिहासलाई कम्युनिष्टहरुले मेटाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । झुठा बोल्ने र कागजी विकासले जनतालाई झुक्याउने प्रयास गरिरहेकाहरुलाई डोटेली जनताले बडार्ने उनको जिकिर छ ।
काँग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बलायरले आफुले डोटी र डोटेली जनतालाइ केन्द्रमा राखेर काम गरेकाले यसको मूल्यांकन जनताले गर्ने बताए । उनले भने, ‘डोटीको सडक पूर्वाधारमा मैले महत्वका साथ काम गरेको छु । मैले सुरु गरेका कामलाई पूरा गरेरै छाड्छु ।’
डोटी ७ नम्बर प्रदेशको राजधानी हो, उनले भने, ‘यो बाहेक मलाइ अरु केही थाहा छैन । कम्युनिष्टहरुले ७ नम्बर प्रदेशको राजधानी अत्तरिया भनि सार्वजनिक घोषणा गरेका छन् । यसमा मेरो घोर आपत्ति छ ।’
उनले आफुले कुनै पनि हालतमा डोटीलाई नै राजधानी बनाइ छाड्ने बताए । यसका लागि आफू जेल जानू परेपनि जान तयार रहेको उनको भनाई छ ।
डोटेली जनता न्यायप्रेमी भएकाले यसको फैसला पनि डोटेली जनता आफैले गर्ने उनको भनाई छ । उनले अगाडि भने, ‘जनता आगनको भुस होइन जता बडार्याे उतै जाने’ ।’ जनताले आफ्नो विवेक प्रयोग गर्ने बेला आएको भन्दै उनले आफ्नो मातृभूमिको विकास र समृद्धिका लागि सिद्धान्त भन्दा माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।