कोशी पीडितका समस्या समाधान गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
399
Shares
ईनरुवा(सुनसरी) । अर्थ मन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले आफूले चुनाव जितेपछि कोशी पीडितका समस्या समाधान गरेरै छाड्ने बताएका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुरमा बसोबास गरेका जनता घरबार विहिन भएको पचास वर्ष भन्दा पनि बढी समय बितिसकेको छ । तर पनि उनीहरुको सबै समस्याको समाधान निस्किएको छैन् । २०२२ सालमा सप्तकोशी नदिको बाढीले गरेको विनासमा धन र जन गुमाएका परिवारहरुको समस्याको समाधान आजसम्म भएको छैन ।
अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले २०७३ माघ २० गते सप्तकोशी कटान र डुबान पीडितहरुको सम्बन्धमा संसदमा विशेष समय लिएर बोलेका छन् । उक्त दिन बराहक्षेत्र, महेन्द्रनगर र प्रकाशपुर क्षेत्र पिडित बासिन्दामा खुशी छाएको थियो । कार्कीले संसदमा पीडितहरुलाई जीवन यापनका उचित विकल्प सहितको बन्दोबस्त गर्नुपर्ने बताएका थिए ।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनेका मन्त्री कार्कीले भने, “सरकार कामचलाउ आयोग बनाएर आफ्नो जिम्मेवार पुरा भएको मात्र ठानिरहेको छ, यसको स्थायी समाधान नै खोज्नु पर्दछ ।” मन्त्रीले कार्कीले भुमिहीनहरुको तथ्याङ्क बनिसकेकोले अब क्षतिपुर्ति र मुआब्जाको विशेष व्यवस्था सरकारले गर्नुपर्ने बताए। “ म निर्वाचित भएमा पाँच वर्षभित्रमा आफूले सबै समस्या पूर्णरुपमा समाधान गर्नेछु” उनले भने “म धेरै बोल्दिन, काम गरेर देखाउँछु”।
मन्त्री कार्कीले पीडितहरुको कुराहरुलाई सम्बोधन गरेकोमा आफूहरु अत्यन्तै खुशी बनेको सप्तकोशी डुबान कटान संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले भने “विगतमा एमालेले पटक पटक यो क्षेत्रबाट जितेर गएपनि केही गरेन तर हाम्रा कुरा पहिल्यै नै संसदमा उठाएर सरकारको ध्यानाकर्षण गरिसकेको ब्यक्ति उम्मेदवार भएकोले यस पटक उनलाई जिताउन हामी कम्मर कसेर लागेका छौं उनीमाथि हामीलाई पूर्ण विश्वास छ ।”