आरजुको प्रश्न : 'कम्युनिष्टहरुले सुदूर पश्चिमका लागि के गरे ?'
प्रकाशित २०७४ मंसिर ४ सोमबार
613
Shares
धनगढी (कैलाली) । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले बाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका नेताहरुलाई सुदूर पश्चिमको विकास र उन्नतिको लागि के गरे भन्ने गम्भीर प्रश्न उठाएकी छिन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार उठेकी डाक्टर आरजुले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का विभिन्न स्थानमा आयोजित चुनावी सभामा सो प्रश्न उठाएकी हुन् । उनले मतदाताहरुलाई संबोधन गर्दै भनिन्, “तपाईँहरू स्वयंले एमाले वा माओवादीलाई सोध्नुहोस् कि पछिल्ला २५ वर्षमा उनीहरुले सुदूरपश्चिम (प्रदेश नम्बर ७) को विकासका लागि के गरे <”
मतदातासँगको भेटमा उनले यो अवधिमा सुदूरपश्चिममा भएका विकास नेपाली काँग्रेसका कारणले मात्रै भएको वताइन्। वडा नम्बर १६ का पिपल चौतारी, रामपुर, घसिटा, विउसाह लगायतका स्थानमा भएका चुनावी सभामा उनले कैलाली सहित प्रदेश नम्बर ७ को विकास काँग्रेसबाट मात्रै सम्भव भएको बताइन्। उनले आफ्नो लक्ष्य आम नेपाली महिलाले आफ्नै जस्तो सेवासुविधा पाउन सकुन् भन्ने रहेको बताइन्। उनले भनिन्,“ म राम्रो परिवारमा जन्मे, हुर्के । राम्रै सुविधामा बसिरहेकी छु । म चाहन्छु– सबै महिलाले मेरै जस्तो सेवासुविधा र अवसर प्राप्त गर्न सकुन् । ” उनले सो लक्ष्य कठिन र असम्भव नभएको पनि बताइन्।
नेतृ डाक्टर राणा देउवाले काँग्रेसका कारण नै संविधानमा महिलाका हकअधिकार सुनिश्चित भएको दाबी गरिन्। उनले संविधान र ऐन कानूनले सुनिश्चित गरेको यी अधिकार कार्यान्वयनका लागि पनि नेपाली काँग्रेसको जीत आवश्यक भएको बताइन् । उनले सिंगो देश र सबै नेपालीको समान विकास र अधिकारका लागि काँग्रेसले नै काम गरेको बताए। आयोजित चुनावी सभामा महिला, दलित, आदिवासी जनजाती, पिछडिएका वर्ग समुदायको उत्थानका लागि काँग्रेसले नै अहम् भूमिका निर्वाह गरेको चर्चा गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार जीवन राना, काँग्रेस नेताहरू प्यारेलाल राना, दिश्यश्वरी शाह, टेकबहादुर रैका, गौरि लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोमबार पनि विभिन्न पार्टी परित्याग गरेर ४५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।