गगनले भने : संसद्मा काँग्रेसलाई बलियो बनाउन बाबुरामलाई भोट दिनुस्
प्रकाशित २०७४ मंसिर ४ सोमबार
633
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संसद्मा काँग्रेसलाई बलियो बनाउनको लागि बाबुराम भट्टराईलाई भोटदिन गोरखाबासीसँग आग्रह गरेका छन् । सोमबार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले अहिले कम्युनिष्ट शासन ल्याउनु पर्छ भन्दै गठबन्धनमा जोडिएका दलहरुका कारण लोकतन्त्र नै खतरामा परेको भन्दै अहिलेको चुनावमा बाबुराम भट्टराईलाई भोट दिन आग्रह गरेका हुन् ।
नेता थापाले काँग्रेसको समर्थनमा उठेका भट्टराईलाई संसद्मा पठाउँदा काँग्रेस पनि संसद्मा बलियो हुने दाबी गरे । नेता थापाले फरक प्रसंगमा संविधान निर्माणको क्रममा एमालेलाई बाँधेर राख्न सम्भव नभएको बेलामा आफूहरुले एमालेलाई सरकारमा ल्याएर एमालेलाई संविधान निर्माणमा ध्यान केन्द्रित गरेको प्रतिक्रिया दिए । उनले त्यतिबेला माओवादीले संसद्मा देखाएको व्यवहारका कारण एमालेले माओवादीलाई छाडेरै संविधान बनाउन ब्यापक दबाब दिएको भएपनि काँग्रेसले नै एमालेलाई मनाएर सबै दलहरुलाई समेटेर संविधान बनाएको बताए ।
उनले काँग्रेसले सबै दललाई समेटेर जान खोज्दा स्थानीय तहको चुनावमा आफूहरु पराजीत हुन पुगेको स्मरण गर्दै काँग्रेसले बरु आफू हार्यो तर, देशलाई हार्न दिएन भने । उनले काँग्रेसले संविधान मधेशबादी दललाई पनि स्वीकार्य हुने खालको बनाउनु पर्छ भनेर संविधान संशोधन गर्न खोज्दा आफूहरु पराजीत भएको भन्दै त्यही संशोधन प्रस्तावका कारण अहिले साईकल बोकेका मधेशी दलहरु पनि चुनावको छाता भित्र आएको बताए । उनले आफू गोरखा मत माग्न नभई न्याय माग्न आएको पनि बताए ।