चितवन । वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई भारी मताले हराउने बताएका छन् । चितवन क्षेत्र नं ३ मा लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका पाण्डेले जनताले विकासप्रेमी उम्मेदवार छान्नुपर्ने बताए ।
शुक्रबार पश्चिम चितवनको गोलाघाटबाट घरदैलो अभियान शुरु गरेका उनले त्यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चितवनका जनताका समस्या आफूले बुझेको भन्दै प्राथमिकता दिँदै विकासलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
भूमिहीनलाई पूर्जा वितरणका लागि यसअघि नै आफूले प्रक्रिया शुरु गरेको भन्दै उनले निर्वाचित भएलगत्तै त्यो कामलाई पूर्णता दिने बताए ।
गोलाघाट क्षेत्रलाई नेपालकै सुन्दर पर्यटकीय क्षेत्र बनाउन लागिपर्ने योजना उनले सुनाए । पोखराको लेकसाइड जस्तो नै पर्यटकको केन्द्रबिन्दु गोलाघाट हुने पाण्डेको भनाइ थियो । पर्यटक आवागमन बढाएर युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाउने योजना कार्यान्वयनमा ल्याइने उनले बताए ।