माओवादीको डटेरै सामना गरेका गिरी, जो राजनीतिक यात्राको ३८ वर्षपछि उम्मेदवार बने
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
386
Shares
दार्चुला । जति जति साँझ ढल्किँदै जान्थ्यो दार्चुला सदरमुकाम खलंगामा उति उति सन्नाटा छाउँथ्यो । कर्मचारीहरु कार्यालय समयको कुनै पर्वाह नगरिकन सुरक्षित बासस्थानतर्फ लाग्थे । विभिन्न कामकाजले खलंगा आएका सर्वसाधारण बास खोज्न पारीपट्टीको भारतीय बजार धारचुलातर्फ कुलेलाम ठोक्थे । ज्यान जोखिममा किन पार्ने भन्दै राति सुत्न धारचुलातर्फ लाग्नेमा कर्मचारी पनि अधिक थिए । दिनभर सर्चमा खटिएका सैनिक अत्याधुनिक हतियारसहित ब्यारेक फर्किन्थे । प्रहरी भने असुरक्षित महसुस गर्दै काम चलाउ बन्दुक लिएर जिल्ला प्रहरी मुख्यालय दौडिन्थे ।
साँझ पर्नै लाग्दा माओवादीले खलंगा मास्तिरको डाँडाबाट हवाइ फायरिङ गर्थे । यो माओवादीको सँधैको कर्म थियो । उनीहरु यसरी बन्दुक पडकाएर खलंगावासीलाई तर्साउँथे । माओवादीकै भाषामा भन्नुपर्दा यसो गर्नुको उद्देश्य राज्यपक्षलाई तर्साएर आफु बलिया छौँ भन्ने पार्नु थियो । आवाज सुन्दा लाग्थ्यो माओवादीले खलंगा आक्रमण गर्ने भनेको आजै रहेछ । सँधै चर्चा चल्थ्यो, माओवादीले खलंगामा भीषण आक्रमण गर्ने योजना बनाएका छन् । जिल्लाका दुर्गम ग्रामिण भेगबाट दिनहुँ खलंगा आउने सर्वसाधारणले यही खबर लिएर आउँथे, माओवादीले आज भोली नै खलंगा आक्रमण गर्ने योजना बनाएका छन् ।
यस्ता खबरले खलंगाको बसाइ सँधै असुरक्षित लाग्ने गर्दथ्यो । त्यसैले प्रायःजसोले साँझ नपर्दै सुरक्षित बासस्थानको खोजीमा भौँतारिनु पथ्र्यो । सेना र प्रहरीलाई सँधै त्रास रहन्थ्यो । अनि सँधै उनीहरु रणनीति बनाउँथे । जवाफी फायरिङको । कति ले अँध्यारो नहुँदै मदिराको साथ दिन्थे । अनी भन्ने गर्थे बाँच्ने मर्ने ठेगान छैन, आजै अन्तिम रात पनि हुन सक्छ ।
तर, यसरी दिनहुँ चल्ने माओवादी आक्रमणका खबरको नेपाली काँग्रेसका नेता मदन गिरीलाई कुनै वास्ता हुन्नथ्यो । दिनभर राजनीतिक गतिविधि, विभिन्न कार्यक्रममा सहभागि भइरहने नेता गिरी अवेर साँझसम्म पनि खलंगामा उपलब्ध स्थानीय बासिन्दासँग छलफल गरिरहन्थे । घण्टौँ राजनीतिक बहस गर्दथे । उनलाई माओवादीको फायरिङको कुनै पिर हुन्नथ्यो । आक्रमणमा परिएला भन्ने डर त्रास नै हुन्नथ्यो गिरीलाई ।
विसं २०६० सम्म आइपुग्दा माओवादीको सशस्त्र बिद्रोहका कारण प्रायःजसो राजनीतिक दलका जिल्लास्तरीय नेताले दार्चुलाबाट आफ्नो बसाइँ मधेश सारीसकेका थिए । कतिपयले राजनीति नै त्यागेको अवस्था थियो । काँग्रेस, एमालेका नेताले जिल्लामा मुख देखाउन छाडिसकेका थिए । उनीहरुलाई लागेको थियो, अब नेपालमा कहिल्यै शान्ति आउँदैन र पहिलाको जस्तो राजनीति गर्न पाइन्न ।
राजाको प्रत्यक्ष शासन थियो । सेना र प्रहरीको ध्यान खलंगाका अड्डा अदालत जोगाउनेतर्फ मात्रै थियो । गाउँ सबै माओवादीको कब्जामा थियो । यस्तो अवस्थामा राजनीतिक दलका नेता कार्यकर्ताको जीउ ज्यानको सुरक्षा चाहेर पनि सेना प्रहरीले गर्न सक्ने अवस्था थिएन । तर यसरी राजनीति गर्न नसकिने अवस्थामा अझ खलंगामा बस्नै नसकिने अवस्थामा काँग्रेस नेता गिरीले न त खलंगा छाडे न काँग्रेस पार्टी नै । उनले आफ्नो ज्यानको पर्वाह नगरिकनै खलंगामा डटेर राजनीति गरे । उनलाई कहिल्यै आफ्नो ज्यानको चिन्ता भएन ।
“काँग्रेस कसरी जोगाइ राख्ने भन्ने चिन्ता मात्र थियो मलाई,” नेता गिरीले त्यतिबेला माओवादीले चलाएको सशस्त्र बिद्रोहको अवस्था सम्झिदै भने । माओवादीले कारण काँग्रेस, एमालेका गाउँका सक्रिय कार्यकर्तालाई विस्थापित गरिसकेका थिए । उनीहरुलाई खलंगा आएर बस्न सक्ने अवस्था थिएन । तर यस्तो अवस्थामा समेत नेता गिरीले गाउँ गाउँ जान छाडेनन् ।
गाउँ जाँदा उनलाई सशस्त्र माओवादीको धम्की नआएको पनि होइन । उनले ज्यान हत्केलामा राखेर हतियारधारी माओवादीसँग घण्टौँ बहस गरिरहन्थे । त्यो यस्तो समय थियो कतिपय काँग्रेस, एमालेका नेता कार्यकर्ताले ज्यान गुमाउनुपर्ने डरले माओवादी प्रवेश गरेका थिए । गाउँमा काँग्रेस, एमाले भएर बस्नै नसकिने अवस्था थियो । खलंगामा पनि लगभग गाउँकै जस्तै अवस्था थियो ।
दार्चुलाका काँग्रेस, एमालेका नेता कार्यकर्ताको बसाइ महेन्द्रनगर, धनगढी र काठमाडौँतर्फ सर्ने क्रम जारी थियो । खलंगामा पार्टी गतिविधिमा खटिने नेता कार्यकर्ताको हरेक दिन बिद्रोही माओवादीकहाँ रिपोर्टिङ हुन्थ्यो । कत्तिलाई त अर्को दिन तेरो आयु धेरै लामो छैन भन्ने माओवादीको खबर आउँथ्यो । कत्तिले त राजनीतिक गतिविधिमा संलग्न हुने क्रम घटाउँदै लगेका थिए ।
“मलाई माओवादीको धम्कीसँगै राजनीतिक छलफलका लागि निम्तो आइरहन्थ्यो । गाउँ जाने र माओवादीसँग बहस गर्ने क्रम कहिल्यै हटेन । मेरो इमानदारीताको राजनीतिबाट बिद्रोही माओवादी पनि प्रभावित थिए । इमानदारीको राजनीतिका कारण माओवादीले ममाथि कहिल्यै आक्रमण गरेनन् । वादप्रतिवाद चलिरहन्थ्यो । तर पनि म काँग्रेस बिचारधाराबाट कहिल्यै पछि हटिन,” दार्चुलामा नेपाली काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार रहेका नेता गिरीले भने ।
माओवादीको योजना थियो काँग्रेस एमाले गतिविधि शुन्य पारेर आफ्नो अभियान र पार्टी बलियो बनाउने । राजनीति गर्ने भए माअोवादी बन, हैन भने गाउँ छाड । माओवादीको यही बटम लाइन थियो त्यतिबेला । यसको प्रभावमा काँग्रेस, एमाले र राप्रपाका धेरै नेता कार्यकर्तामा पर्यो । अर्कोतर्फ राजावादी बन्नुपर्ने दबाब त छँदै थियो । तर काँग्रेस नेता गिरीलाई दुवैतर्फको दबाबको कुनै असर परेन । उनी लोकतन्त्रको पक्षमा अडिग थिए । दुईवटा खुकुरीको धारमा बसेर नेता गिरीले दार्चुलामा द्वन्द्वको समयमा राजनीत गरे । समग्रमा भन्नुपर्दा गिरीले जिल्लामा काँग्रेसको बीउ जोगाउने ठूलो काम गरेका थिए ।
घाटबजार त्यतिबेला खलंगाको सबैभन्दा असुरक्षित बासस्थान मानिन्थ्यो । काँग्रेस नेता गिरीको बसाइ घाटबजारमै थियो । हरेक साँझ दल्लेख धारमा माओवादीले गरिरहने हवाइ फायरिडसँग उनी कहिल्यै डराएनन् । माओवादीको खलंगा आक्रमणको डरत्रासको गिरीमाथि कुनै असर परेन । ‘ज्यान गए जाला खलंगा र काँग्रेसको राजनीति छोडदिन’ उनको सँधै अडान रहिरहन्थ्यो । अहिले पनि माओवादीका नेताहरु त्यो प्रसंग निकाल्दै तारिफ गर्छन– ‘नेता भनेको त मदन गिरी हो ।’
सँधै एकनास सामान्य पहिरन । नम्र बोली ब्यवहार । कुरा गर्ने शैली सबैसँग एकनासको । आफ्ना कार्यकर्तासँग नम्र व्यवहार । विपक्षीसँग सैद्धान्तिक बहस गरिरहने बानी छ नेता गिरीको । उनको काँग्रेस भित्र मात्र होइन विपक्षि दलका नेता कार्यकर्तासँग एकनासको व्यवहार रहन्छ । ‘आजसम्म राजनीतिका नाममा झगडा गर्नु परेका छैन’ उनले भने । त्यसैले गिरी विपक्षी पार्टी तथा तिनका कार्यकर्तामाझ पनि मन पर्ने नेता बन्न सकेका छन् । काँग्रेस भित्र कुरा गर्न, वार्ता गर्न सहज नेता गिरीलाई नै लिन्छन विपक्षी पार्टीका नेता कार्यकर्ताले । केही छलफल र बहस गर्नु परे उनलाई नै रोज्छन ।
दार्चुलामा काँग्रेस भित्र सबैभन्दा त्यागि नेताका रुपमा चिनिन्छन् गिरी । उनले कहिल्यै कुनै पदको बार्गेनिङ गरेनन् । बरु अरुलाई उनले बेलावखतमा पद छाडे । आफु लो प्रोफाइलमा बसे । त्यसैको कदर गर्दै आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रदेशसभा १ मा काँग्रेसले उनै सादगी बोकेका नेता गिरीलाई उम्मेदवार बनाएको छ । पार्टीले उनको त्यागको कदर गरेको छ । उनको उम्मेदवारीमा पार्टी भित्र कुनै बादबिवाद भएन । सबैले एक स्वरमा गिरीलाई उम्मेदवार बनाउन सहयोग गरे । काँग्रेसको राजनीति गर्न थालेको ३८ वर्षपछि नेता गिरी निर्वाचनमा उम्मेदवार बनेका छन् ।
डाँडाकोट गाविस– २ लिमा (हालको मालिकार्जुन गाउँपालिका– ५) मा सामान्य परिवारमा जन्मेका हुन नेता गिरी । उनका काका गगन गिरी महेन्द्रनगरमा शिक्षक थिए । त्यसैले उनी अध्ययनका लागि महेन्द्रनगर झरे । विसं २०३६ मा उनले महेन्द्रनगरको साधारण मावि (हालको महेन्द्रनगर उच्चमावि)बाट एसएलसी उत्तिर्ण गरे । र महेन्द्रनगरकै प्रतिष्ठित सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सीमा भर्ना भए ।
त्यतिवेला देशभर बहुदलका पक्षमा आन्दोलन चलेको थियो । गिरी पनि त्यही आन्दोलनमा होमीए । उनी आइएस्सी सकेपछि महेन्द्रनगर माविमा शिक्षक भए । एक वर्ष अध्यापन गरेपछि विएड पढ्न पृथ्वीनारायण क्याम्पस पोखरा गए । विएड सिध्याएपछि २०४२ सालमा उनले कञ्चनपुरको घटाल मावि सुडामा शिक्षण गरे ।
त्यतिवेला बालकृष्ण खाँण नेपाल विद्यार्थी संघको अध्यक्ष थिए भने एनपी साउद उपाध्यक्ष थिए । गिरी नेपाल विद्यार्थी संघ दार्चुलाको अध्यक्ष भए । र महेन्द्रनगरबाटै राजनीति गर्न थाले । उनी अध्यक्ष भएको बेला मोहन हमाल उपाध्यक्ष तथा विक्रमसिंह धामी नेवि संघ दार्चुलाको सचिव थिए । हमाल र धामी काठमाडौँमा अध्ययन गर्दथे ।
बहुदलको प्रचारप्रसार गर्न भारतको बनवसाबाट पर्चा पम्पलेट ल्याएर गिरी कञ्चनपुरको विभिन्न ठाउँमा पञ्चायत विरोधी गतिविधि सञ्चालनमा सहभागि बन्थे । सुडामा शिक्षण गर्दा ताका उनी पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आरोपमा जेल परे । गिरी २०४६ मा प्रजातन्त्र आएपछि दार्चुला आए । विसं २०४७ मा पार्टीको तदर्थ समिति बन्यो । मानबहादुर चन्द दार्चुला काँग्रेसको पार्टी सभापति बने । गिरी सह–सचिव भए ।
विसं २०४८ मा अधिवेशनबाट महादेव बडू सभापति भए । गिरी महाधिवेशन प्रतिनिधि छानिए । र निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि छानिदै आएका छन् । विसं २०५६ मा कार्यसमिति सह सचिव बसेर काम गरे । विसं २०६२÷६३ मा जनआन्दोलन समन्वय समितिमा बसेर लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे गिरीले । काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू सो समितिको संयोजक थिए ।
दार्चुलाको गाउँ गाउँ डुल्ने नेतामा पर्छन प्रदेशसभा १ काँग्रेसका उम्मेदवार गिरी । उनी मतदातामाझ निकै परिचित छन् । र जनताका मागबारे राम्रोसँग भिजेका नेता पनि हुन् । गाउँ गाउँका समस्या थाहा छ गिरीलाई । उनले जनताले निर्वाचनमा जिताए जिल्लाको सवै क्षेत्रको विकास निर्माण गर्ने योजना वनाएका छन् । आफ्नो जितमा उनी ढुक्क छन् । ‘म जनतामाझ घुलमिल भएर काम गरेको मान्छे हुँ, म कुनैपनि पार्टीका कार्यकर्ता, मतदाताका लागि बिरोनो छैन, त्यसैले मलाई आफ्नो अमूल्य भोट दिन्छन्” गिरीले भने । बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समस्या उनलाई सवै ठाउँको कण्ठ छ ।
करिब ३८ वर्ष राजनीति गर्दा उनले न त घरपरिवारलाई समय दिए, न कुनै व्यक्तिगत स्वार्थपूर्तीको काम गरे । आफ्नो स्वार्थ भन्दा पनि जनताको स्वार्थका लागि काम गरेको गिरी दाबी गर्छन । र भन्छन–‘मेरो आफ्नो फाइदाका लागि केही गर्नु छैन, अहिलेसम्म केही गरेको पनि छैन ।” उम्मेदवार गिरी अहिलेसम्म कुनै लाभको पदमा बसेका छैनन् । ‘मलाई जनताले निर्वाचित गराउँछन, म जितेपछि पहिला जस्तै जनताकै भलाइका निम्ति आफूलाई समर्पित गर्छुँ” काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार रहेका गिरीले भने ।