पूर्वी रुकुमको चुनावी माहोल : ‘कतै घरदैलो कतै आमसभा’
गणेश ओली,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
568
Shares
रुकुम। स्थानीय तहको निर्वाचनमा माओवादीले सम्पूर्ण गाउँपालिका जितेको पूर्वी रुकुममा कम्युनिष्ट गठबन्धनले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि प्रचार प्रसार गरिरहेका छन् । नेपाली कांग्रेस, नयाँ शक्ति नेपाल लगाएतका दलको उम्मेदवारी रहे पनि कम्युनिष्ट गठबन्धनका साझा उम्मेदवारको सो क्षेत्रमा प्रभाव देखिएको छ । कमला रोका, तेजबहादुर ओली र पूर्णबहादुर घर्ति कम्युनिष्ट गठबन्धनका साझा उम्मेदवार हुन् ।
पूर्वी रुकुममा प्रतिनिधी सभामा कम्युनिष्ट गठबन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेस र नयाँ शक्तिका उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ । तर माओवादीको आधार ईलाका सो क्षेत्रमा कमला रोकाको विजय हुने अनुमान स्थानीय बुद्धिजीवी तथा अगुवाहरुले गरेका छन् ।
पूर्वी रुकुममा आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि एमाले र माओवादीका तर्फवाट साझा प्रचार प्रसार टिम बनाएर विभिन्न शैलीमा प्रचार गरिरहेको एमाले नेता टोपबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा पूर्वी रुकुम प्रदेश सभा क्षेत्र नं. १ मा विभिन्न गाउँमा सभा सम्पन्न भइसकेको छ भने प्रदेश सभा क्षेत्र नं. २ मा पार्टीका आन्तरिक भेटघाट तथा घरदैलो भएको थियो भने दोश्रो चरणमा प्रदेश सभा क्षेत्र नं. २ मा आम सभा तथा क्षेत्र नं. १ मा घरदैलो कार्यक्रम चलिरहेको छ ।
प्रदेश सभा क्षेत्र नं १ अन्तर्गत भुमेको महत, धर्मशाला, सिमा, काक्री, लुकुम, पुथा उत्तरगंगाको कोल, राङसी, तकसेरा, ओख्मा, मयाङ, हुकाममैकोट, रन्मा, अर्जल, खाराबाङ, जाङ, चारगाउँ गरि ११ वटा स्थामा चुनावी सभा सम्पन्न भएको सोहि क्षेत्रका प्रदेश सभा उम्मेदवार तेजबहादुर ओलीले जानकारी दिए ।