काठमाडौं । चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले मंगलबारदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ ।
दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय कार्यक्रम गरी अभियान शुरु भएको हो । दुवै दलले १० वटै क्षेत्रमा संयुक्त परिचालन कमिटी गठन र प्रचार कार्यालय खोलिसकेका छन् । जिल्लास्तरीय चुनावी सम्पर्क कार्यालय जमलमा खोलिएको छ ।
गठबन्धनले गत साता काठमाडौँमा साझा चुनावी घोषणापत्र सार्वजनिक गरी देशभर संयुक्त प्रचार अभियान जारी राखेका छन् । यी दुई ठूला वाम दलले गत असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका थिए । कार्यक्रममा नेताहरुले 'राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको झण्डालाई वामपन्थीले फहराउँदै आएकाले' सामाजिक आर्थिक रुपान्तरणको कार्यभार आफूहरुकै भएको उद्घोष गरे ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु राष्ट्रिय हितलाई केन्द्रमा राखेर रीत र सामान्य कूटनीतिभन्दा माथि उठी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी मुलुकको समृद्धिको यात्रामा अग्रसर रहेको स्पष्ट पारे ।
उनले भने "हामी साम्यवादको लक्ष्य राख्छौँ, अहिले त्यो सम्भव छै्रन । काँग्रेसले पनि आफूलाई सोसलिष्ट इन्टरनेसनलको सदस्य हुँ किन भन्छ ? अनि कम्युनिष्टले अधिनायकवाद ल्याउँछ भनेर भ्रम छर्न मिल्छ ?" उनले वामपन्थी सरकारले अनैतिक र भ्रष्टरुपमा काम नगर्ने स्पष्ट गर्दै बूढीगण्डकी जलविद्युत् आयोजनामा गेजुवा कम्पनीको सम्झौता खारेज गरिएकामा आपत्ति प्रकट गरे ।
एमालेका नेता एवं काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले वाम शक्ति एकताबद्ध हुनु समयको माग र देशको आवश्यकता भएको बताउँदै नेपाली काँग्रेसभित्रका लोकतन्त्रवादीले पनि वामपन्थीको तालमेल र एकतालाई सहज रुपमा लिनुपर्ने बताए । उनले भने," कम्युनिष्टले जितेमा रुन पनि पाइँदैन भनिनु अन्यथा होइन किनकि हामीले जितेमा प्रत्येक नेपाली सुखी र समृद्धि हुनेछन्, उनीहरु हाँस्न पाउनेछन्, रुनै पर्दैन ।"
नेता नेपालले निर्वाचन सम्पन्न हुनेबित्तिकै पार्टी एकता हुनेमा कुनै सन्देह नभएको स्पष्ट पार्दै एकापसमा घुलमिल र एकताबद्ध हुन दुवै पार्टीका कार्यकर्तालाई आग्रह गरे ।
माओवादी केन्द्रका सचिवालयका सदस्य एवं काठमाडौँ १० माप्रतिनिधिसभा सदस्य उम्मेदवार हितमान शाक्यले समाजवाद स्थापनाको लक्ष्यसहित वाम शक्ति मिलेर चुनावी मैदानमा आएको अवस्थामा जनस्तरमा उत्साह थपिएको बताए । उनले वामपन्थीले जित्दा मुलुकमा अधिनायकवाद आउँछ भनेर गलत भ्रम फैलाउनुले नेपाली काँग्रेस पराजित मानसिकतामा पुगेको टिप्पणी गरे ।
एमाले काठमाडौँ निर्वाचन परिचालन कमिटीका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लामा स्थानीय निर्वाचनमा पनि वामपन्थीको पकड स्थापित भएकाले आफूहरुको विजय निश्चित भएको बताए ।
माओवादी केन्द्रले हिमाल शर्माको नेतृत्वमा जिल्ला परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसलगायत दलबाट रमेशकुमार खड्का, बालकृष्ण महर्जन, रविरत्न तुलाधार, अनन्तकुमार घिमिरेलगायत करिब ५० जना एमालेमा प्रवेश गरे ।रासस