उपमहानगर र नगरका इकार्इ सभापतिहरूलाई चुनावी प्रशिक्षण
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
175
Shares
बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ अन्तरगतको प्रदेश सभा २ मा पर्ने बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका वडा सभापतिहरुको चुनावी भेला सम्पन्न भएको छ । भेलामा सहभागी उपमहानगरपालिका र नगरपालिकाका सभापतिहरुले वडाहरूमा भएका चुनावी गतिविधिहरू र जनताका गुनासो, गर्नुपर्ने विकास निर्माणका कामहरू तथा जनताका आकाङ्क्षाका बारेमा नेपाली काँगे्रसले लिनुपर्ने नीतिगत निर्णयका बारेमा नेतृत्वलाई विभिन्न सुझावहरू दिएका थिए ।
भेलामा सहभागी वडा सभापतिहरुले प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरी र प्रदेशसभा सदस्य उम्मेदवार महेशमान सिंहको पक्षमा मतदान गर्न जनता निक्कै उत्साहित भएको बताएका छन् । नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (२) को आयोजनामा भएको भेलामा बोल्दै चुनाव प्रचारप्रसार संयोजक हरीबहादुर आचार्यले नेपाली काँग्रेस रहेमात्रै मुलुकमा लोकतन्त्र रहने बताए ।
भेलामा प्रचारप्रसार सहसंयोजक डिल्लीप्रसाद आचार्य, विमलप्रसाद भट्टराई, सचिव नुमा थापा, प्रजातन्त्रवादी प्राध्यापक मदन कट्टेललगायतले वडा सभापतिहरूलाई आगामी मङ्सिर २१ गते हुने निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीति र संयमताका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिव मुक्तिप्रसाद अधिकारीले गरे ।