arrow

भरपर्दो सडक निर्माणमा पहल गर्ने राज्यमन्त्री गुरुङको प्रतिवद्धता

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
sita_gurung1.jpg

तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको जिरिखिम्तीदेखि मोराहाङ हुँदै श्रीजुङ, पौठाक जोडिने सडकको स्तरोन्नति तथा कालोपत्रेका लागि पहल गर्ने बताएकी छिन् । राज्यमन्त्री भएपछि बिहीबार पहिलो पटक मेन्छ्यायेम गाउँपालिका पुगेकी गुरुङलाई मेन्छ्यायेम गाउँपालिकाले भव्य स्वागत तथा सम्मान समेत गरेको छ ।  

स्वागतपछि बोल्दै राज्यमन्त्री गुरुङले लामो समयसम्म मोटो रकम खर्च गरिसक्दा समेत सडकको स्तरोन्नति हुन नसकेको भन्दै यथाशीघ्र सडक कालोपत्रे गर्नका लागि आफुले भूमिका खेल्ने बताइन् । सो सडक निवर्तमान सांसद भवानीप्रसाद खापुङले निर्वाचन क्षेत्र विकास अन्तर्गत रोजेको सबैभन्दा ठुलो पाँच करोडको योजना हो । 

चुनाव प्रचार प्रसारकै शिलशिलामा आफु मोराहाङ आइपुग्दा सडकको निरीक्षण समेत गर्न पाएको भन्दै राज्यमन्त्री गुरुङले सडकको दुरावस्था सुधार गरी मेन्छ्यायेम गाउँपालिकाका बासिन्दाको जनजीवनलाई सहज बनाउने प्रतिवद्धता समेत जनाईन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार समेत रहेकी राज्यमन्त्री गुरुङले गाउँपालिकाको भवन निर्माण, विकास र समृद्धिका लागि समेत विभिन्न प्रतिवद्धताहरु जनाएकी छिन् । 

राज्यमन्त्री गुरुङले संविधान निर्माणको क्रममा मस्यौदा समितिको सदस्य भएर समेत स्थानीय तहका अधिकारलाई संवैधानिक रुपमा मजबुद बनाउन भूमिका खेलेको बताउँदै अब पनि जिल्लाबाट प्रतिनिधित्व गर्दै स्थानीय तहको अधिकारलाई अझ शशक्त र मजबुद बनाउन भूमिका खेल्ने बताईन् । 
राज्यमन्त्री गुरुङलाई स्वागत गर्दै मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले गाउँपालिकाको समृद्धि र विकासका लागि सहयोग गर्न आग्रह गरे । सो अवसरमा अध्यक्ष खापुङले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राज्यमन्त्री गुरुङलाई जितको लागि शुभकामना समेत दिए। 

राज्यमन्त्री गुरुङलाई मोराहाङको गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाले पनि स्वागत तथा सम्मान गरेको छ । महिलाहरु मात्रैले सन्चालन गरेको सहकारीमा आवद्ध महिलाहरुले संविधैनिक रुपमा महिलाको हक र अधिकार स्थापित भएको भन्दै अब त्यसको कार्यान्वयनको लागि समेत महिलाको प्रतिनिधित्व जरुरी भएको बताएका छन् । उनीहरुले महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न भन्दै राज्यमन्त्री गुरुङलाई जितका लागि शुभकामना व्यक्त गरेका मेन्छ्यायेम गाउँपालिकाका उपाध्यक्ष गीतादेवी गौतमले जानकारी दिईन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ