कञ्चनपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाइ मन्त्री एनपी साउँदले कञ्चनपुरमा विकासको मुहान फूटाउने उद्घोष गरेका छन् । आइतबार शुक्लाफाटा १२ कालागडीमा आयोजित चुनावी सभामा बोल्दै उनले कन्चनपुरको रुप परिवर्तन गरेर यहाँ समृद्धिको मुल फुटाउने उद्घोष गरेका हुन ।
आफू मन्त्री भएको बेला थालेका थुप्रै विकास निर्माणका काम सम्पन भएका र अझै धेरै पूरा गर्न बाँकी रहेकोले यसपटक आफूलाई त्यो जिम्मेवारी दिन उनले आग्रह गरे । उनले भने ‘एउटा घर बनाउँदा बनाउदै मिस्त्रीले बीचैमा छोडेर गयो भने त्यो घर नयाँ मिस्त्रीले बनाउँदा पुरै बिग्रन्छ, पुरानोले कहाँ कसरी गर्यो ? म कहाँबाट गरुँ भन्ने अन्यौल हुन्छ ।’ उनले अर्को पटक आउँदा यहाँ आउँदा पीच सडकमा मोटर चढेर आउने पनि बताए ।
सडक, तटबन्धन, पुल निर्माण, सिँचाइका थुप्रै योजना सम्पन्न गराएका साउदले आरक्ष पीडितका समस्या समाधान गर्ने वचन समेत दिएका छन् । नेपाली काङ्ग्रेसका प्रभावसाली नेता साउदले आफुले बोलेको बचन पुरा गर्दै आएको र गरेर देखाउने बताए । बिकास निर्माण हुनेमा ढुक्क हुन मतदातालाई आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा उमेदवार बहादुर सिंह थापाले जनताको हक अधिकार स्थापित गर्न काङ्ग्रेसको जित आवश्यक भएको बताए । कम्युनिष्ट गठवन्धन भ्रमको खेती मात्र भएकाले बामपंथीहरुको भ्रममा नपर्न उनले मतदाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गर्नेको संख्या ठूलो थियो । नेपाली काङ्ग्रेसले नै आफ्नो हक अधिकार सुनिश्चित गर्ने भएकोले पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताए । पार्टी प्रवेश गर्नेमा सुरेश बडायक, गंगा राना र ठगुन्ना रहेका छन ।