निर्वाचनलाई लक्षित गरी अतिदुर्गम क्षेत्रमा दूरसञ्चार सेवा
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
689
Shares
काठमाडौँ। आगामी १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले अति दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिकमले दार्चुला, जुम्ला, कालीकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याट मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको हो । कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले केही हप्ताअघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपी हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका, कालीकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन्’, विज्ञप्तीमा भनिएको छ ।
उल्लिखित गाउँपालिकाअन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लामा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ ।