वर्षमानको टोलीमाथि गोली प्रहार, सुरुमा ढुंगा हानियो, पछि गोली
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
400
Shares
रोल्पा । पूर्वअर्थमन्त्री एवं रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनको टोलीलाई लक्षित गरी आइतबार गोली प्रहार भएको छ ।
शनिबार धरापमा पारिँदा पुनको गाडिमा सामान्य क्षति पुगेको थियो । रोल्पाको दुईखोली गाउँपालिका –३ चिउरी खोला पुगेका बेला नचिनिएको समूहले माथिबाट ढुंगा प्रहार गरेको र पछि एक राउण्ड गोली प्रहार गरेको बताइएको छ ।
नचिनिएको समूहले हतियार पड्काएपछि प्रहरीले जवाफमा ८ राउण्ड गोली प्रहार गर्न पुग्यो । खोला नजिकैको जंगलमा आइतबार साढे ११ बजेतिर ९ राउण्ड गोली चलेको आवाज सुनिएको स्थानीयले बताएका छन् ।
वाम गठबन्धनका तर्फबाट आइतबार इरिबाङको बागमारा बजारमा चुनावी सभा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यही निर्णयनुरुप प्रहरीको कडा सुरक्षाबीच पुनसहितका नेता सम्मिलित सभा सञ्चालन भएको छ ।
गोली र ढुंगा प्रहार गर्ने समूहको पहिचान नभएको प्रहरीले जनाएको छ । पुन सवार गाडी शनिबार माडी–१ को भिताबाङ गाउँ नजिकैको पेदीखोलामा धरापमा परेको थियो ।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले उम्मेदवारको प्रचार टोलीमाथि सामान्य अवरोध गर्न खोजिए पनि सुरक्षाफौजले पुनसहितको टोलीलाई सुरक्षित गन्तव्यमा लगिदिएको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका नेता धर्मेन्द्र वास्तोलाले आफ्ना कार्यकर्ता नभई जनताले नै उम्मेदवारहरुलाई अवरोध गरेको बताएका छन् । उनले भनेका छन्, ‘जनताले यो चुनाव चाहेका छैनन् । अहिलेको व्यवस्था पनि चाहेका छैनन् । जनसत्ता खोजिरहेका छन् ।’