तेस्रो प्रयासमा काठमाडौं ५ मा चुनाव जित्ने ईश्वर पोखरेलको दाबी
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
416
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नम्बर ५ मा आफूले सहजै विजयी हुने दाबी गरेका छन् । यस अघि दुईपटक नेपाली काँग्रेसका उम्मेदवारसँग पराजीत भएका पोखरेलले आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनाव विशेष साक्षात्कारमा तेस्रो प्रयासमा आफू यस पटक चुनावमा विजयी हुने बताएका हुन् । पोखरेलले विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए ।
पोखरेलले विगतमा यस क्षेत्रका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै चुनाव जित्न कुनै समस्या नभएको दाबी गरे । पोखरेलले भने, “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु । म काहिँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।”
पार्टी अध्यक्षले अरु कुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्विकार गर्दै आफूले काम गर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए । एमाले–माओवादीबीचमा एकता हुने दाबी गर्दै पोखरेलले विचार मिलिसकेको बताए। विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबीचमा मुद्दाहरु मिलेको बताए । चुनावले गर्दा अहिले केही अलमल भएको मात्रै हो । अब तत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ।पोखरेलले भने ।
उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादीबिचको एकताको विरोध गर्नुभन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुने पोखरेलको भनाई छ । आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ ।
“हामी अन्दाज गर्न सक्छौँ प्रधानमन्त्री । तर औपचारिक रुपमा कसैलाई पनि अघि सारेका छैनौं ।” चुनाव लगत्तै पार्टी एकता र सरकार गठन एकसाथ जाने पोखरेलको भनाई छ । केपी शर्मा ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्वीकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए । केपी ओलीको सम्भावना कति छ भन्ने ऋषि धमलाको प्रश्नमा पोखरेलले भने, “सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ ।” एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंका गरिएको छ नि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् ।
कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको पोखरेलले बताए । “यो अफवाह फैल्याइएको मात्रै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पनि वृद्धवृद्धालाई गोली ठाक्छन् भनेर हल्ला फैल्याइएको थियो । तर एमालेले नै वृद्धवद्धा, अपाङ्ग र एकल महिलालाई भत्ता दियो ।” पोखरेलले भने । “शेरबहादुरजीहरुले के बुझ्नुपर्छ भने अहिलेको संविधान लेख्ने कुराको अगुवाई गर्ने कम्युनिष्टहरुनै हुन् । जनतालाई दिइएको अधिकारका विषयमा कम्युनिष्टहरुको भूमिका छ ।” पोखरेलले बताए ।
विरोधीको खण्डन गर्दा नेपाली कांग्रेसका नेताहरु हतास मनस्थितीमा पुगेको पोखरेलको तर्क छ । कांग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टहरुकै बलले संविधान जारी भएको पोखरेलको दाबी छ । संविधान कार्यान्वयनका विषयमा आफूहरु प्रतिबद्ध भएको पोखरेलले बताए । आगामी चुनावमा वाम गठबन्धनले शानदार बहुमत ल्याउने दाबी पोखरेलको छ । “दुई तिहाई बहुमत आउँछ । यो भनेको कुरा रिजल्ट आइसकेपछि बजाइदिनुहोला ।” पोखरेलले भने ।