उदय शम्शेरको क्षेत्रमा कांग्रेस प्रवेश गर्नेको चल्यो लहर
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
547
Shares
ललितपुर । नेपाली कांग्रेसका यूवा नेता उदय शम्शेरको निर्वाचन क्षेत्रमा कांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ। ललितपुर क्षेत्र नं १ मा दिनहुँजसो विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ। चुनावी अभियानका क्रममा रहेका निवर्तमान सांसद राणा जहाँ जहाँ कार्यक्रमका लागि पुग्छन्, त्यहाँ उनले पार्टी प्रवेश नगराएको कार्यक्रम नै हुँदैन।
शनिबार प्यूटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता पूर्णबहादुर घले कांग्रेस प्रवेश गरे। उनीसहित ५ जना एमालेका कार्यकर्तालार्इ प्रतिनिधि सभाका उम्मेदवार राणाले टीका लगाएर कांग्रेस प्रवेश गराए। घले स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट सदस्यका उम्मेदवार थिए। यस्तै शनिवार नै माल्टामा आयोजित चुनावी सभामा पनि राणाले ३५ जना माओवादी केन्द्रका कार्यकर्तालार्इ पार्टी प्रवेश गराए।
पार्टी प्रवेश गर्दै एमालेका स्थानीय नेता घलेले विकासका लागि कांग्रेस आवश्यक रहेको बताए। उनले २५ बर्ष आफूहरुले कम्युनिष्टहरुलार्इ जिताएर भूल गरेको उल्लेख गर्दै विकासवादी नेता उदय राणाको विकल्प सोच्न नसकिने बताए।
अर्थ राज्यमन्त्रीसमेत रहेका राणाले चार बर्षमा गरेका विकासका कामहरुले उनको लोकप्रीयता बढ्दै गएको छ। उनी २०७०सालको संविधान सभा निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए।
शुक्रबार साँझमात्र गोदावरी नगरपालिका वडा न. २ बिशङ्खुनारायण, बिष्टछापमा भएको चुनावी कार्यक्रममा राप्रपाका वडा अध्यक्षका उम्मेदवार लक्ष्मण विष्टसहित २५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।