विश्वप्रकाशको क्षेत्रका मतदाताको माग : 'जंगली हात्तीबाट जोगाईदेऊ'
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
455
Shares
भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र काँग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुबै उम्मेदवारले जनताका घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् तीमध्ये ५२ हजार ८४६ महिला छन् ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठ आठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा नेपाली काँग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेलले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’ मा नेकपा एमालेकै गोपालचन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् । अहिले उनीहरु जनतासँग मत मागिरहेका छन् ।
खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् । शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरुले अगाडि सारेका छन् । रासस