उपेन्द्र यादव पूरा तयारीसहित, राजपाका नेता घोषणापत्रविनै मत माग्दै
बनेन संयुक्त घोषणापत्र
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
141
Shares
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएका ठूला राजनीतिक दलले विभिन्न योजनासहितका घोषणापत्र बोकेर घरदैलो अभियान सुरु गरेका छन् ।
ठूला दल घोषणापत्रसहित मत माग्न निस्किँदा मधेस मुद्दाको वकालत गर्दै आएका राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादीले अझै घोषणापत्र ल्याएका छैनन् ।
दुई नम्बर प्रदेशमा सिट बाँडफाँड गरेका राजपा र समाजवादी फोरमले संयुक्त घोषणापत्र ल्याउने भनेका थिए । यद्यपि, राजपाबाट घोषणापत्र बनाउन कसैले चाँसो देखाएनन् । संघीय समाजवादीले आफ्नो ढंगले चुनावी घोषणापत्र तयार पार्दै छ ।
राजपा महासचिव केशव झाले भने, ‘संघीय समाजवादीसँग मिलेर संयुक्त बनाउने भन्ने कुरा थियो । हाम्रो पार्टीबाट कसैले त्यसमा सहभागिता जनाएको जस्तो लाग्दैन । समाजवादीले आफ्नो पार्टीको मात्रै बनाउँदैछ भन्ने सुनिएको छ ।’
उसो भए तपाईहरु घोषणापत्र विनै मत माग्नु हुन्छ त ? जवाफमा उनले भने, ‘घोषणापत्र नै नहुने र राजनीतिक प्रतिबद्धता नै नहुने भन्ने होइन । केही न केही उपाय खोजिदै छ होला ।’
संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले भने आफुहरुको घोषणापत्र छपाई भइरहेको बताए । उनले भने, ‘घोषणापत्र छापिने कुरा प्राविधिक कुरा हो । मूलतः दलीय एजेण्डा के हो भन्ने कुरा प्रमुख हो ।’
उनले आफुहरुले ७ वटै प्रदेशको छुट्टा–छुट्टै घोषणापत्र बनाएको बताएका छन् । श्रेष्ठले अगाडि भने, ‘हामीले जहाँजहाँ जो–जोसँग तालमेल भएको छ, उसैसँग मिलेर संयुक्त घोषणापत्र बनाउने भनेका थियौँ । त्यही अनुसार सुनसरी, भोजपुरमा तालमेल अनुसार घोषणापत्र बनायौँ । ७ वटै प्रदेशमा हाम्रो छुट्टा–छुट्टै घोषणापत्र हुन्छ ।’ दुई नम्बर प्रदेशमा राजपासँग मिलेर संयुक्त घोषणापत्र बनाउने भनिएको हो, सबै ठाउँमा त तालमेल छैन,–उनले भने । हाम्रो छपाई भइरहेको छ । केही दिनमै सार्वजनिक गर्छाैँ।