डोल्पा । डोल्पामा आन्तरिक विवादमा फस्दै आएको डोल्पा काँग्रेस आसन्न चुनावका लागि भने एकजुट भएर चुनावी प्रचारप्रचार कार्यलाई तीव्र पारेको छ ।
काँग्रेसबाट प्रतिनिधि सभाको टिकट पाउनुभएका अंगतकुमार बुढा र प्रदेश क्षेत्र नं १ का बेगमसिंह ठकुरी चुनावी प्रचारप्रचारको क्रममा उपल्लो डोल्पामा पुगेका छन् ।
काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका बुढाले डोल्पालाई विकास, सुशासनको बाटोतर्फ डो¥याउनका लागि अमूल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गरेका छन् ।
जिल्ला पार्टी सभापतिसमेत रहेका प्रतिनिधि सभाका उम्मेदवार बुढा विकासवादी, भ्रष्टाचारमुक्त समाज निर्माणमा अभियन्ताको रुपमा डोल्पामा परिचित छन् ।
एमालेका धनबहादुर बुढा र काँग्रेसका अंगतकुमार बुढा काइके गाउँपालिकाअन्तर्गत एउटै गाउँका भएपनि राजनीतिक हिसाबमा भने वर्षौंदेखि प्रतिस्पर्धा कायमै छ ।
त्यस्तै, प्रदेश क्षेत्र नं २ मा उठ्नुभएका काँग्रेसका उम्मेदवार सुरेश शाही नौलो अनुहार होइन ।
दोस्रो संविधान सभाको चुनावमा काँग्रेसबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही एमालेसँग पराजित भएका थिए ।
यसपटक शाही धुमधामका साथ चुनावी प्रचारप्रचारमा जुटेका छन् । यसपटक क्षेत्र नं २ बाट काँग्रेसको जित सुनिश्चत भन्दै स्थानीय नेता कार्यकर्ता भोट मागिरहेका छन् ।
उक्त क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर शाही छन् । तर संकटकालमा माओवादीले जनतालाई दुःख दिनेदेखि आस्थाका धरोहर मन्दिरसमेत तोडफोड गरेकाले कतिपय क्षेत्रका जनताले यसकै आधारमा भोट नदिने काँग्रेसको दाबी छ ।
प्रदेश क्षेत्र नं २ मा स्थानीय चुनावमा र आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा पटकपटक माओवादी केन्द्र र एमालेका स्थानीय कार्यकर्ताबीच हुने गरेको विवादका कारण पनि काँग्रेसलाई फाइदा हुने नेपाली काँग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले दाबी गरे ।
स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा झिनो मतले पराजय भोगेका दिलबहादुर विष्ट काँग्रेसलाई भोट माग्दै तल्लो डोल्पामा घरदैलो अभियानमा जुटेका छन् ।
डोल्पामा उदारवादी नेताको रुपमा परिचित विष्ट, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायसहितको टोली शाहीको पक्षमा मत माग्न तल्लो डोल्पामा प्रचारप्रचारमा खटाइएको काँग्रेसले जनाएको छ ।
त्यस्तै, संघ र प्रदेशमा उठेका साना दलहरु नयाँ शक्ति पार्टीका पुष्प बुढा, नेकपा मालेका हर्कबहादुर रोकायलगायतका विभिन्न पार्टीका उम्मेदवार पनि चुनावी प्रचारप्रचारमा अभियानमा जुटेका छन् ।
नेता कार्यकर्ता सबै गाउँघरतिर चुनावी प्रचारप्रचारमा जुटेपछि सदरमुकाम दुनै, त्रिपुराकोट, जुफाललगायतका स्थानीय बजार सुनसान भएका छन् । रासस