arrow

'मैले प्रदेशलाई सुदृढ बनाउन आवश्यक कार्ययोजना नै तयार पारिसकेको छु'

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
nuchhe_narayan.png

काठमाडौं । न्हुच्छेँ नारायण मानन्धर आसन्न प्रदेश सभा सदस्यको लागि काठमाडौं क्षेत्र नं ६ को क तर्फका उम्मेदवार हुन् । लामो समय राजनीतिमा लागेका उनी नयाँ बनेको प्रदेशको संरचना, त्यसले बोकेका सम्भावना र चुनौतीहरुसँगै प्रदेश सभा कसरी चल्छ यसमा सांसद्हरु कसरी प्रस्तुत हुनु पर्ला जस्ता विषयमा हाम्राकुरा डटकमले प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई सोध्ने गरेको ५ प्रश्नमा उनले यस्तो जवाफ दिए । 


देशले पहिलो पटक अंगालेको प्रदेश संरचना अनुसार प्रदेशसभाको उम्मेदवारी दिनुभएको छ । चुनाव जितिसकेपछिकालागि केके चुनौती देख्नुहुन्छ ?

संसद भएपछि सर्वप्रथम प्रदेशको सांगठनिक संरचना तयार पार्नुपर्ने हुन्छ । स्थायी रुपमा प्रदेशको राजधानी नै तोकिएको छैन । प्रदेशको नाम नै प्रदेशसभाबाट निर्णय गर्नु पर्ने अर्को चुनौती छ । प्रदेशसभामा सरकारका मन्त्री तथा मुख्यमन्त्रीको लागि साधनस्रोत जुटाउनु अर्को महत्वपूर्ण कुरा हो । किनकी उपरोक्त सवै व्यवस्था गर्न प्रदेश सांसद भएर पहिलो पटक जानेले नै ती चुनौतीहरु झेल्नु पर्छ । 


सबैभन्दा पहिलो त सांसद् भएर प्रदेशको संरचना तयार पार्नु नै मुख्य चुनौती होला । प्रदेशको संरचना स्थापित गर्न र यसको सुदृढीकरणका लागि तपाईँ के के गर्ने सोच बनाउनु भएको छ ? 

प्रदेशको संरचना स्थापित गर्नु नै प्रमुख चुनौती हो । संरचना तयार गर्दा त्यसको भौगोलिक परिवेश तथा बसोबास गर्ने जातजातीको अवस्था संस्कृति आदि तर्फ पनि  ध्यान दिएर त्यस्तो संरचना तयार गर्नुपर्छ भन्ने मैले ठानेको छु । मैले त अहिले नै प्रदेश सभामा प्रदेशको स्थायित्वको लागि कसरी प्रस्तुत हुने भन्ने स्पष्ट भिजन बनाईसकेको छु । 


अब प्रदेशको संरचनासँगै देखिने आन्तरिक रुपमा प्रदेशको केन्द्र र नामावली सम्बन्धी विवाद र बाह्य रुपमा अधिकार सम्बन्धी विवाद सिर्जना हुने अवस्था देखिएको छ । यसको समाधानको लागि तपाईको भिजन कस्तो छ ?


निर्वाचनको सम्बन्धमा हामी उम्मेदवारहरु जनताको घरदैलोमा जाँदैछौं । प्रदेश सभाको निर्माण सम्पन्न भएपछि जनताको राय समेत लिएर विवाद नहुनेगरी प्रदेशको केन्द्रको निर्णय हुनेछ । प्रदेशको नामावली सम्बन्धमा विगतका दिनहरुमा जातीय तथा वर्गीय नामाकरण गर्नको लागि धेरै विवाद आएको हो । तर वर्तमान सन्दर्भमा यो अवस्था पार भईसकेको छ । अब प्रदेश सभाले प्रदेशको नाम निर्णय गर्दा प्रदेशको भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेका राष्ट्रका महत्वपूर्ण विधिहरु मध्ये उक्त प्रदेशमा पर्ने उत्कृष्ट सम्पदाबाट जनताको समेत राय लिएर सभाको नामाकरण गर्ने प्रयास गरिन्छ । 


अबका प्रदेश र स्थानीय तह समेत स्वायत्त भईसकेको अवस्थामा यी निकायहरु आफैं आर्थिक रुपमा सम्पन्न हुनुपर्ने देखिन्छ । स्रोत साधनको प्रचुर प्रयोग गर्नको लागि तपाईँको भिजन कस्तो छ ?

प्रदेश विकास हुनका लागि स्रोत र साधनमा आत्मनिर्भर बन्नु पर्छ र आत्मनिर्भर हुनका लागि केन्द्र तथा अन्तर्राष्ट्रिय निकाय भर परेर कहिलै पनि हुँदैन । त्यसैले आफ्नो प्रदेशमा रहेको साधन तथा स्रोतको पहिचान गरेर ती प्राकृतिक स्रोतहरुलाई वातावरणीय बस्तुस्थिती नबिग्रने गरी दीर्घकालीन सोच राखेर उक्त स्रोत र साधन जनताको हितमा अधिकतम फाइदा हुने गरी परिचालन गर्दा प्रदेश आत्मनिर्भर हुन्छ भन्ने मेरो ठम्यार्इ छ । 

प्रदेश सांसद्को रुपमा उम्मेदवारी दिँदै गर्दा आफ्ना प्रदेशका कस्ता समस्या र कमजोरीहरु पहिचान गर्नुभएको छ र कुन् समस्यालाई चुनाव जितेपछि पहिलो प्राथमिकतामा राख्नुहुन्छ ?

जनताको माया र मत प्राप्त गरी मैले बिजय प्राप्त गरे भने विकासका पूर्वाधारलाई प्रदेशका प्रत्येक जनताको घर आगनमा पुर्‍याउछु । कृषि, उद्योग,जलविद्युत तथा पर्यटनलाई बढी महत्व दिएर रोजगारीको अवस्थाहरुमा बृद्धि गर्ने  आदि कार्यहरुलाई प्राथमिकता दिँदै प्रदेशका जनताको आर्थिक तथा सामाजिक विकासमा अहोरात्र खट्ने छु। मैलै उम्मेद्वारी दिएको काठमाडौंका २६,२७ र २८ वडाका साथै टोखा नगरपालिकाको वडा नं ९ र १०  पर्दछ यो प्रदेशका प्रत्येक सम्पदासँग म गहन रुपमा नै परिचित छु । यहाँका मुख्य समस्याहरुमा खानेपानी, फोहोर जस्ता समस्याको समाधानका लागि पनि मैले काम गर्नेछु। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ