काठमाडौँ । एमाले र माओवादी केन्द्रले सत्तारुढ नेपाली काँग्रेसलाई दलाली गर्ने पार्टी भएको संगीन आरोप लगाएको छ । मंगलबार सार्वजनिक गरिएको वामगठबन्धनको संयुक्त घोषणा पत्रमा काँग्रेसमाथि विभिन्न लाञ्छना लगाइएको छ ।
गठबन्धनले काँग्रेस सामन्ती निरंकुशतन्त्र र वैदेशीक एकाधिकारवादी पुँजीपति वर्गसँग सम्झौता र आत्मसमर्पण गर्दै आएको दलाली पार्टी भएको संगीन आरोप लगाएको हो । २९ पृष्ठ लामो घोषणा पत्रको २६औँ पृष्ठमा “मुख्य रुपमा पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका मूल नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन्’–भनिएको छ ।
काँग्रेसले निहित स्वार्थका लागि आफू अनुकुल लोकतन्त्रको परिभाषित गर्ने गरेको बाम गठबन्धनको आरोप छ । “कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको नेपाली कांग्रेसको मूल चरित्र कम्युनिष्ट बिरोधी, श्रमजिवी जनता बिरोधी, र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप रिभाषित गर्ने खालको छ ।” घोषणा पत्रमा अगाडि भनिएको छ , “यसले कैयन पटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामू आत्मसमर्पण गरेको छ र कैयन पटक जनबिरोधी काम गरेको छ ।”
वामगठबन्धनले काँग्रेसले निजीकरणको नाममा राष्ट्रिय सम्पतीमा रजाइँ गरेर समाप्त पारेको पनि आरोप लगाएको छ । यसपार्टीले बहुमत प्राप्त गरेको समयमा निजीकरणको नाममा राष्ट्रिय उधोगधन्दा र सार्वजनिक संस्थाहरु समाप्त गरेको छ ।
काँग्रेसले आफ्नो घोषणापत्रमा एमाले–माओवादी केन्द्रले वामगठबन्धन गरेर सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोजेकाले लोकतन्त्र खतरामा पर्ने उल्लेख गरेको थियो । वाम गठबन्धनले मधेस केन्द्रीत दल र प्रजातन्त्र पार्टीबारे पनि टिप्पणी गरेको छ ।