काँग्रेसका तीन केन्द्रीय सदस्यको एउटै बोली : काँग्रेस पराजीत हुँदैन
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
455
Shares
भीमदत्तनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधानको कार्यान्वयन र रक्षाका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेस बिजयी हुनु आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस कञ्चनपुरले मंगलबार कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को कृष्णपुर नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै केन्द्रीय सदस्य बडूले नेकपा (एमाले) र माओवादी केन्द्रको बाम गठबन्धन पार्टी एकिकरणको नाउँमा आगामी निर्वाचनमा दुई तिहाई मत ल्याउने र संविधान भत्काउने खेलमा लागेको आरोप लगाए ।
अधिनायकवादी शासन ल्याएर नयाँ अस्थीरतातर्फ मुलुकलाई लैजान बामबन्थीहरु अग्रसर रहेको नेता बडूको भनाई थियो । त्यसैगरी चुनावी सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पुर्वमन्त्री नारायणप्रकाश साउदले दुई बामघटक पार्टी मिलेपनि कांग्रेसलाई पराजीत गर्न नसक्ने दाबी गरे। ‘कम्युनिष्ट परिदृष्यलाई जनताले स्वीकार गर्दैनन् ।’ नेता साउदले भने–‘दुई पार्टीको नक्कली मिलन मात्रै हो ।’ उनले बाम गठबन्धनभित्र माओवादी पिल्सीएको बताए । अधुरा विकास निर्माणका काम पुरा गर्न उनले कञ्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस जित्नु आवश्यक रहेको बताए।
त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखकले मुलुकलाई समृद्ध बनाउन सक्ने सम्भावना संगै केही चुनौती समेत रहेको बताउँदै संविधानले बोकेका बिशेषता र मुल्य मान्यतालाई जिवित राख्ने कांग्रेसको अहम भुमिका रहेको धारणा राखे । बाम गठबन्धन मार्फत मुलुकमा एक दलीय अधिनायकवाद ल्याउन कम्न्युष्टहरु लागि परेको उनले बताए। संविधान कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ लैजानु नै कांग्रेसको मुख्य एजेण्टा रहेको नेता लेखकको भनाई छ ।
‘बामपन्थीहरु गठबन्धन गरेर अस्थितीरतातर्फ मुलुकलाई धकेलेर संविधान परिवर्तन गर्न खोज्दैछन ।’ लेखकले भए–‘त्यस कारण आसन्न निर्वाचन संविधान बचाउने जनमत संग्रह पनि हो। ’नेपाली कांग्रेस कञ्चनपुरले सोमबारदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सिंगो नेतृत्व र उम्मेदवारसहित चुनावीसभामा होमिएको छ । निर्वाचन क्षेत्र नं. १ मा चुनावी सभा सकेर कांग्रेसले मंगलबार क्षेत्र नं. २ र बुधबार क्षेत्र नं. ३ का विभिन्न स्थानमा चुनावी सभाको आयोजना गरेको छ ।। सभामा जिल्लाका सबै क्षेत्रमा प्रतिनिधीसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सहभागिता रहेको थियो ।