काँग्रेस नेतृत्वलाई युवाप्रति विश्वास भएको छ –उम्मेदवार लामिछाने
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
461
Shares
काठमाडौं । नेपाली काँग्रेसको नेतृत्वले युवालाई विश्वास गर्न थालेको एक उम्मेदवारले बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ (क) प्रदेशसभा का उम्मेदवार सुरजचन्द्र लामिछानेले काँग्रेस नेतृत्वले नै आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताएका छन् ।
उनले भने, ‘मैले ०४६ सालदेखि नै पार्टीका लागि काम गरेको छु, नेविसंघ, तरुण दलदेखि काँग्रेसको महाधिवेशन प्रतिनिधिसमेत भएको व्यक्ति हुँ, जिम्मेवारी बहन गर्न जानेको छु ।!
लामिछानेले भने, ‘म त्यस्तो भाग्यमानी उम्मेदवार हुँ जहाँ एउटै वडाबाट मात्र एक प्रदेशसभाको उम्मेदवार हुन पाएको छु, काठमाडौं वडा ३१ बाट मैले प्रतिनिधित्व गरेको छु, मैले मेरो वडालाई बुझेको छु, स्थानीय भएकाले मतदाताको भावना बुझेको छु ।’
उनले यो क्षेत्रबाट भविष्यका प्रधानमन्त्री (प्रकाशमान सिंह) प्रतिनिधि सभाका उम्मेदवार भएकाले पनि यहाँका मतदातामा उत्साह छाएको प्रतिक्रिया दिए ।
लामिछानेले मतदाताको मतबारे भने, ‘मतदाताले एउटा पढेलेखेको युवा आउनु भएको छ, पक्कै केही गर्नुहुने नै छ, भोट तपाईलाई भनेर उत्साही बनाएका छन् ।’
त्रिविविबाट स्नातकोत्तर लामिछानेले मतदाता पनि अब काँग्रेसले नै केही गर्ने देखिएको छ भन्दै उत्साही भएको पाएको प्रतिक्रिया दिए ।
नयाँ पार्टीहरुबार के भन्छन् सुरजचन्द्र लामिछाने ?
उनी भन्छन्, ‘नयाँ जोगीले खरानी धेरै घस्छ । थ्रेस होल्ड लागेपछि आफ्नो अस्तित्व जोगाउन पनि नयाँहरुले नयाँनयाँ बखेडा झिकेका छन् । के के न गरौंला भन्दै पुराना दललाई गाली गरेका छन् । काँग्रेसलाई कसैले गाली गर्नै पर्दैन । काँग्रेसले मुलुकमा दिएको योगदान सबैलाई थाहा छ । त्यसैले हामी नयाँबाट डराउनु पर्ने आवश्यकता नै पर्दैन ।’
उनले अगाडि थपे, ‘पार्टी उपसभापति भइसकेको र उपप्रधानमन्त्री भइसकेको श्रद्धेय प्रकाशमान सिंह ज्यूलाई कुनै परिचयको आवश्यकता छैन । उहाँसंग लड्न आउनेले चर्चामा आउन पनि अनेक तरहका आरोप लगाउलान् । ती आरोपको कुनै तुक छैन । काँग्रेस यो क्षेत्रमा हिजो पनि बलियो थियो आज पनि बलियो छ ।’