arrow

काठमाडौं १० का उम्मेदवारहरुको ताजा आरोप : एउटै मञ्चमा कसले के भने ? 

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
rajan_hitman.png

काठमाडौं । खेलकुदमन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसीले आफूले यस अघि पाएको मतको दोब्बर मत हाँसिल गरेर जित्ने दाबी गरेका छन्। 

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मन्त्री केसीले १० नम्बरका जनताहरुले आफूलाई रुचाएकोले उम्मेद्धवारी दिएको स्प्ष्ट पारे । उनले भने,‘मैले जति काम त्यहाँ कसैलेपनि गरेको छैन, यो कुरा जनतालाई गएर सोध्दा हुन्छ, १० नम्बरका जनताहरुको घर कुन दिशा  फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु, किनकी म यहाँको जनप्रतिनिधि हुँ नि ।’

उनले अबको यात्रा समृद्धिको यात्रा भएकोले आफ्नो पार्टीले यही मुलमन्त्रलाई बोकेर चुनावी अभियानमा होमिएको जिकिर गरे । केसीले थपे,‘अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्छ, अहिले हामी मुलुकलाई समृद्धि बनाउनुपर्छ भनेर लागिरहेका छौं, यो चुनावलाई मैले भीडन्तमात्रै नभएर जनमतसंग्रहको रुपमा समेत लिएको छु, जनताको हातमा अहिले दुई वटा च्वाईस छ, लोकतान्त्रिक शक्ति रोज्ने कि वामगठबन्धनलाई ? दुईवटामध्ये एकलाई रोज्नुपर्छ।’

उनले एमाले–माओवादी केन्दबाट संयुक्त उम्मेद्धवार बनेका हितमान शाक्यलाई ६ नम्बर प्रदेश छोडेर किन १० नम्बरमा आएको भन्दै प्रश्न समेत तेर्साए । केसीले थपे,‘हामीलाई अहिले वाम गठबन्धनप्रति कुनै डर छैन, चुनाव भनेको प्रतिष्पर्धा हो।’ यद्यपी उनले ०७० को निर्वाचनमा माओवादीका उम्मेद्धवार प्रचण्डविरुद्ध उनको फोटोमा कालो मोसो दलेर चुनावको विरोध गरेका शाक्य अहिले त्यही क्षेत्रमा चुनाव लड्न आउनुले उनको लोकतान्त्रिक पद्धप्रति आफूलाई शंका लागेको गुनासो पोखे । उनले अघि थपे,‘हिजो जुन क्षेत्रमा उहाँले प्रचण्डको फोटोमा कालो मोसो दलेर हिँड्नुभएको छ, आज त्यही ठाउँमा उहाँ लोकतन्त्रको दुहाई दिएर आउनुभएको छ, यसमा हामीलाई शंका छ।’

केसीले मुलुकमा कम्युनिष्टहरुले केही पनि गर्न नसक्ने दाबी गर्दै भने,‘हेर्नुहोस्, ०६४ को निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी भयो, चार चार जना कम्युनिष्ट नेताहरु प्रधानमन्त्री भए, तर खोई त संविधान जारी गरेको ? आखिर संविधान जारी हाम्रो पार्टी ठूलो हुँदा भयो, हाम्रै पार्टीको नेताले मुलुकको नेतृत्व लिँदा संविधान जारी भएको हो, यो कुरा सबैलाई थाहा छ।’ उनले कम्युनिष्टहरु बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भनेर विश्वास गर्ने भएपनि त्यो कहिल्यैपनि पूरा नहुने ठोकुवा गरे । केसीले थपे,‘सत्ता कब्जा त बन्दुकको नालबाट होईन, जनताको मतबाट हुन्छ।’ उनले आफू जनताको मतलाई सम्मान गर्ने नेता भएकोले अबको निर्वाचनमा जनताले आफूलाई अत्यधिक मत दिने समेत विश्वास दिलाए । 

उनले आफूले जनताको पक्षमा काम गरेको उल्लेख गर्दै जित्नेमा आफू दृढ विश्वस्त रहेको समेत स्पष्ट पारे । उनले भने,‘म त लोकल लेभलदेखि जनताको सेवामा समर्पित भएको मान्छे हँु, वडा, नगरहुँदै पार्टीको केन्द्रिय स्तरमा काम गरेको छु, कामकै आधारमा म मन्त्रीसमेत भएको छु, अझै एकपटक फेरि सेवागर्ने मौका दिनुपर्छ भनेर भनेको छु, सोही अनुसार म चुनावी मैदानमा उत्रिएको छु।’

केसीले अबको चुनावमा कांग्रेसले नै बहुमत ल्याउने दाबी गरे । उनले भने,‘विश्वमै कम्युनिष्ट शासन पतनको बाटोमा छ, हराएको छ, घृणित भएको छ, कम्युनिष्टहरुले दुई तिहाई ल्याउने भन्ने कुरा कोरा सपना मात्रै हो, लोकतन्त्रविरुद्धमा म सोच्नपनि सक्दिन्।’ उनले आफूले कहिल्यैपनि शाक्यलाई टुरिष्ट उम्मेद्धवार नभनेको समेत जिकिर गरे । उनले भने,‘उहाँलाई मैले कैलेपनि टुरिष्ट उम्मेद्धवार भनेको छैन, र भन्नेवाला पनि छैन।’ त्यस्तै उनले आफ्नो घर किर्तिपुरको चोभार र काठमाडौंको कालिमाटीमा भएकोले अहिले कालिमाटीमा बसोबास गरिरहेको स्विकार गरे । 

त्यस्तै काठमाडौं १० नम्बर क्षेत्रका एमाले–माओवादी केन्द्रका साझा उम्मेद्धवार हितमान शाक्यले आफ्नो विजयी सयमा एक हजार प्रतिशत रहेको दाबी गरेका छन् । उनले आफ्नो एक तिहाई जीवन राजनीतिमा नै वितेकोले आफ्नो अनुभव र क्षमताका कारण उक्त क्षेत्रमा विजयी हाँसिल गर्ने कोशिस भैरहेको बताए । उनले भने,‘निर्वाचनमा मैले जित्नुपर्छ, म माओवादी र एमालेको साझा उम्मेद्धवार हुँ, मेरो विजयी सुनिश्चि छ।’

शाक्यले आफूले जीवनमा कहिल्यैपनि प्रतिष्पर्धामा नहारेको उल्लेख गर्दै भने,‘म २०३८ सालदेखि अहिलेसम्म कुनैपनि चुनावमा हारेको छैन, चाहे ०३८ सालको विद्यार्थी राजनीतिमा होस्, वा ०४५ सालमा त्रिवीको सभापति बन्दाखेरि, वा ०६४ सालको संविधानसभाको निर्वाचनमा नै किन नहोस्, म कहिल्यै पनि हारेको छैन्।’ शाक्यले आफू जीवनमा कहिल्यैपनि पराजित नभएकोले यो पटक पनि पराजित नहुने जिकिर गरे । उनले थपे,‘जनताले मलाई भोट हाल्छन्, यो कुरामा म पूर्ण विश्वस्त छु।’

१० नम्बर क्षेत्र वामपन्थीहरुको बर्चश्व भएकोले आफूले जित्ने उनको दाबी थियो । उनले भने,‘०७० मा केसीले जित्नुभयो, त्यतिवेला माओवादी पार्टी विभाजित भएको थियो, अहिले हामी एकताबद्ध भएका छौं, एमाले र माओवादी एक भएर अघि बढेका छौं, जीत सुनिश्चित छ।’ उनले मुलुकमा स्थिर सरकार वाम शक्तिहरुलेमात्रै दिन सक्ने भएकोले यो पटकको निर्वाचनमा वामपन्थीहरुको विजयी हुने बताए । 

उनले आफू बाग्लुङमा जन्मिएको भएपनि आफ्नो थाकथलो बाग्मती नै भएको जिकिर गरे । उनले थपे,‘जनता प्रष्ट हुनुपर्छ, हुन त म बाग्लुङमा जन्मिएको हुँ, म अहिले १० नम्बर क्षेत्रकै बासिन्दा हुँ, बरु कांग्रेस उम्मेद्धवार राजन केसीजी अन्तै बस्नुहुन्छ।’ उनले आफूहरुकै योगदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको स्पष्ट पारे । उनले आफूहरुले कहिल्यैपनि कम्युनिष्ट शासन ल्याउने भनेर नभनेको समेत जिकिर गरे । शाक्यले थपे,‘हाम्रो घोषणापत्रमा कहीँ कतै त्यस्तो भनिएको छैन, घोषणापत्र हेर्न सक्नुहुन्छ, संविधानमै समाजवाद बनाउनुपर्छ, मुलुकलाई आर्थिक समृद्धि बनाउनुपर्छ भन्ने हो, कांग्रेसले बरु समाजवाद र प्रजातन्त्र बिर्सियो।’

कार्यक्रममा दुवै पार्टीका उम्मेद्धवारहरुले आफूहरुवीच स्वस्थ चुनावी प्रतिष्पर्धा भएकोले आफूहरुले सोही अनुसार चुनावलाई उपयोग गरिरहेको बताए । त्यस्तै उनीहरुले जनताको मतलाई आफूहरुले स्विकार गरेर अघि बढ्ने समेत प्रतिबद्धता जनाए । आफू विजयी भए सो क्षेत्रको विकासको लाग पूर्ण कटिबद्ध भएर काम गर्ने उनीहरुको विश्वास थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ