विवेकशीलका नेता खनाल भन्छन्–ठूला दलले वद्नाम गरेका क्षेत्र हामी बनाउँछौँ
थ्रेसहोल्ड कटाउने मुख्य लक्ष्य हो
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
578
Shares
काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य मुमाराम खनालले थ्रेस होल्ड कटाएर विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने एक मात्र उद्देश्य रहेको बताएका छन् ।
राष्ट्रिय पार्टी निर्माणका लागि भने अत्यन्तै चुनौति रहेको उनले स्वीकारेका छन् । उनले भने, ‘समानुपातिमा थ्रेसहोल्ड कट्ने मत आउँछ भन्ने हाम्रो आँकलन छ, तर प्रत्यक्षतर्फ एक जना जित्न उत्तिकै चुनौतिपूर्ण छ ।’
खनालले अगाडि भने, ‘परम्परावादी दलहरुले वर्चश्व कायम गरेको स्थानमा परिवर्तन आएको छ, त्यसैले विवेकशील पार्टीलाई राष्ट्रिय पार्टी बन्नलाई सहज बन्दै गएको छ ।’
विवेकशील पार्टीले कुनै राजनीतिक दलसँग प्रतिस्पर्धा नगर्ने, लोकतान्त्रिक संस्कारको जर्गेनाका लागि प्रतिस्पर्धा गर्ने खनालले बताए । अन्य राजनीतिक दलले घोषणापत्रलाई आकाश फल बनाएर स्वर्गको सपना देखाएको आरोप लगाए । विवेकशील पार्टीले पूरा गर्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको उनको भनाई छ ।
उनले भने, ‘हामीले जनताका आधारभूत समस्याहरुलाई चुनावी मुद्दा बनाएका छौँ । हामी अनावश्यक ठाउँमा राजनीति गर्न आएका होइनौँ । जसरी परम्परावादी दलहरुले अनावश्यक ठाउँमा राजनीति गर्दै आएका छन् ।’ उनले ठूला राजनीतिक दलले कर्मचारीतन्त्र, न्यायालय, विश्वविद्यालय, अस्पताल सबै क्षेत्रमा राजनीति गर्ने गरेका छन्, उनले अगाडि थपे, ‘हामी आवश्यक ठाउँमा मात्रै राजनीति गर्छौँ ।’ शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षामा नेपाल सबैभन्दा बद्नाम भएको छ ।
नेपालको दूरावस्थामा रहेका यी चारवटा चीजलाई व्यापारिकरण गर्न नहुने उनको धारणा छ । अहिलेको राज्यसत्ताले यी चारवटा चीजमा व्यापारीकरण गरेर, माफियातन्त्रको घुसपैठ गरेर दूरावस्था आएको खनालले बताए ।
शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षाका लागि विवेकशील पार्टीलाई जनताले मतदान गर्नुपर्ने खनालको भनाई छ । ठूला दलले वद्नाम गरेका क्षेत्र हामी बनाउँछौँ–उनले भनेका छन् ।