काठमाडौंमा अन्तरक्रिया र भेटघाट पछि दोलखा फर्किए विवेकशील साझाका उमेद्वार शिवाकोटी
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
172
Shares
दोलखा। विवेकशील साझाका प्रतिनिधि सभाका उमेद्वार विजय बाबु शिवाकोटी काठमाडौमा रहेका दोलखालीहरुसँग अन्तरक्रिया र छलफल पछि जिल्ला फर्किएका छन्।
काठमाडौंमा रहेका जिल्लावासीसँग विवेकशील साझाको बारेमा जानकारी गराउने र मत समेत माग्ने कार्यक्रमका लागि उनी काठमाडौं गएका थिए।
परम्परागत रुपमा विभिन्न पार्टीसँग जोडिएका मतदाताहरुले उत्साहपूर्वक विवेकशील साझाले उठाएको मुद्धा मन पराएर एकाकार हुन खोजेको भन्दै शिवाकोटीले चुनावी अभियानमा आफू उत्साहित भएर लागेको बताए।
कतिपयले खुलेर लाग्न नसकेपनि मतदान गर्ने विश्वास दिलाएका उनले बताए।
आम मतदाताले परिवर्तनको अपेक्षा गरेका छन्। देशमा लोकतन्त्रको नाममा व्याप्त लुटतन्त्रको अन्त्य चाहेका मतदाताले आफूलाई मतदान गर्ने विश्वास शिवाकोटीले लिए।
अबको आशा विवेकशील साझा भन्ने चुनावी नाराका साथ विकेकशील साझाले देशभर चुनावमा होमिएको छ।
०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीको तर्फबाट देशभर १५८ जनाको उमेदवारी खडा भएका छन्।
पहिलो र दोश्रो चरण गरि प्रतिनिधिसभामा ४ महिला सहित ६७ जना र प्रदेशसभामा ६ महिलासहित ९१ जनाको उमेदवारी साझा विवेकशीलबाट परेको छ।
यस पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढेको विवेकशील साझा पार्टीले दुबै चरणको उमेदवारी दर्ताको दौरानमा जनस्तरमा देखिएको उत्साहले थप प्रेरणा मिलेको जनाएको छ ।
प्रतिनिधिसभाका लागि काठमाडौंको १० मध्ये ३ क्षेत्रमा महिला उमेदवार उठाएको पार्टीले उपत्यकाका पन्ध्रै क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ।
प्रदेशसभाका लागि उपत्यकाका ३० मध्ये २७ स्थानमा आफ्नो उमेद्वारी प्रस्तुत गरेको छ । उमेद्वारी दर्ता सकिएलगत्तै चुनावी अभियानलाई देशव्यापीरूपमा तिब्रता दिएको सो पार्टीका केन्द्रीय सदस्य दिनेश प्रसाईले बताए।