कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक उम्मेदवार रहेको कञ्चनपुर क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढेको छ । अगामी मंसिर २१ गते हुने निर्वाचनमा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन शनिबार क्षेत्रीय र नगरस्तरीय प्रचार समिति गठन गरिएको छ ।
गोपाल भट्टको संयोजकत्वमा क्षेत्र नम्बर ३ मा ७०१ सदस्यीय प्रचार समिति गठन गरिएको छ । त्यसैगरी भिमदत्त नगरपालिकामा पदम अवस्थीको संयोजकत्वमा ५०१ सदस्यीय र महाकाली नगरपालिकामा डम्बर चन्दको संयोजकत्वमा ५०१ सदस्यीय प्रचार समिति गठन गरिएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर–३ मा भिमदत्त नगरपालिका, महाकाली नगरपालिका र बेतकोटको केही भाग पर्छ । नेता लेखकको उपस्थितिमा गठन गरिएका प्रचार समितिले नगरपालिकाहरुमा छुट्टाछुट्टै वृहत आमसभा गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका सहमहामन्त्री अच्युत कलौनीले बताए ।
नेपाली कांग्रेसले आईतबारदेखि उम्मेदवारहरुका पक्षमा व्यापक प्रचारप्रसारसँगै घरदैलो कार्यक्रमलाई तिव्रता दिने निर्णय गरेको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेता लेखक उम्मेदवार छन् भने प्रदेश सभामा ‘क’ बाट यज्ञराज जोशी र ‘ख’ बाट बेलबहादुर राना उम्मेदबार छन् ।
यो क्षेत्रबाट नेता लेखक भारी बहुमतका साथ दुई पटक विजयी भइसकेका छन् । विकासप्रेमी नेता लेखकलाई अत्यधिक बहुमतका साथ पुन: केन्द्रमा पुर्याउन यस क्षेत्रका मतदाता उत्साहित देखिएका छन् । महाकाली नदीमा पक्की पुल निर्माण गर्ने वृहत योजना लगायत कञ्चनपुरमा ४२ पुल निर्माण, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, शान्तिवार्ता र संविधान निर्माणमा नेता लेखकको महत्वपूर्ण योगदान रहेको छ ।