चितवनमा लोकतान्त्रिक र वाम गठवन्धनको बनाए निर्वाचन परिचालन समिति
नारायण ढुंगाना
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
466
Shares
रत्ननगर, चितवन । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चुनावी माहोल ह्वातै बढेको छ ।
राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियान शुरु गरेका छन् । मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता भने बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उपस्थिति भने न्यून देखिन्छ ।
वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'समेत जिल्लामा तीन दिनदेखि चुनावी प्रचार अभियानमा छन्। प्रचारप्रसारका क्रममा उनले स्थायी शान्ति र देशको समृद्धिका लागि यो पटकको चुनाव महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न चितवनका जनतामा आइपुगेको उल्लेख गरे।
उनका प्रतिष्पर्धी भएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेसमेत चुनावी प्रचारप्रसार अभियानमा छन् । केन्द्रीय नेता उठेकाले चिनवन क्षेत्र नं ३ मा धेरै चासो र चर्चाको विषय बनेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । यता लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ मा राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं २ मा शेषनाथ अधिकारीको उम्मेदवारी छ । सबै नेता अहिले चुनावी प्रचार अभियानमा गाउँगाउँमा छन् ।
यस्तो छ वाम गठबन्धनको निर्वाचन परिचालन कमिटी
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चितवनले आगामी मंसिर २१ गतेको निर्वाचनका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनको नेतृत्वमा संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर प्रचार अभियान थालेको छ ।
समितिको उपसंयोजकमा एमालेका नेता कृष्णप्रसाद खनाल र देवी ज्ञवाली तथा माओवादी केन्द्रका नेता नारायण दाहाल र सूर्य सुवेदी छन् । समितिमा दुई पार्टीका २५० जना रहने र ३५ सदस्यीय सचिवालय समिति बनाइएको छ । पार्टीको संयुक्त भेलाले दुवै पार्टीका जिल्ला इञ्चार्ज संयोजक रहने गरी पार्टी एकिकरण संयोजक समिति समेत गठन गरेको जनाएको छ ।
समितिको संयोजकमा एमालेका जिल्ला इञ्चार्ज कृष्ण खनाल र माओवादी केन्द्रका इञ्चार्ज ईश्वरी भट्टराईलाई तोकिएको छ । समितिको सदस्यमा एमालेका कृष्ण खनाल, तेजेन्द्र खड्का, पार्वती रावल, तथा माओवादी केन्द्रका ज्ञानु बस्नेत र घनश्याम दाहाल छन् ।
यस्तो छ लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति
नेपाली काँग्रेस चितवनले आगामी मंसिर २१ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन विभिन्न सात समिति गठन गरेको छ । काँग्रेस जिल्ला सचिव उत्तम जोशीकाअनुसार काँग्रेस जिल्ला उपसभापति कैलाश कोइरालको नेतृत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै पूर्वसांसद रामकृष्ण घिमिरेको संयोजकत्वमा लोकतान्त्रिक गठबन्धनका समन्वय समिति, नेपाली काँग्रेस चितवनका निर्वतमान सभापति टेकप्रसाद गुरुङ्को संयोजकत्वमा अनुगमन तथा सुझाव समिति, जिल्ला सचिव उत्तम जोशीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।
काँग्रेस चितवनका अर्कासचिव राजीव न्यौपानेको संयोजकत्वमा भातृ संस्था एवं शुभेच्छुक संस्था परिचालन समिति, कोषाध्यक्ष शंकर कँडेलको संयोजकत्वमा आर्थिक समिति र सहसचिव सूर्य अर्यालको नेतृत्वमा घोषणा पत्र तयारी समिति गठन गरिएको जोशीले जानकारी दिए । आफ्ना भातृसंस्था, शुभेच्छुक एवं क्रयाशील सदस्यलाई निर्देशन दिइएको जोशीले जानकरी दिए ।