लोकतान्त्रिक गठबन्धनद्वारा निर्वाचन परिचालन समिति गठन
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
500
Shares
हेटौँडा। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति निर्माण र प्रचारप्रसार समिति गठन गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको शुक्रबार बसेको संयुक्त बैठकले निर्वाचन परिचालन मूल समिति र प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरेको हो ।
बैठकले नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा १ सय ५१ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजक राप्रपाका उपाध्यक्ष शिवराम थापा र सदस्यहरुमा नेपाली कांग्रेसका सचिव बुद्ध लामा, राप्रपाका सचिव खिलप्रसाद चौलागाई, नेपाली कांग्रेसका कोषाध्यक्ष गोपीलाल विक र राप्रपाका कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने रहेका छन्।
बैठकले लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसारलाई प्रतिनिधिसभामा व्यवस्थित गर्न प्रतिनिधि सभासदस्य क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल संयोजक र राप्रपाका पूर्व जिल्ला अध्यक्ष नवराज विष्ट सहसंयोजक रहेको निर्वाचन परिचालन समिति र क्षेत्र नम्बर २ मा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने संयोजक र राप्रपा क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल सहसंयोजक रहेको समिति गठन गरेको छ ।
बैठकले नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला संयोजक र सहसंयोजकमा नेपाली कांग्रेसका जिल्ला सदस्य भीमसेन महत र राप्रपाका क्षेत्रीय अध्यक्ष धु्रव संजेल सहसंयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको काँग्रेस मकवानपुरका प्रवक्ता कोइरालाले जानकारी दिए ।