वाम गठबन्धनले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई कुनै असर गर्दैन: राज्यमन्त्री राणा
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
607
Shares
ललितपुर । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले लोकतन्त्र स्थायित्वका लागि आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय हुनु आवश्यक रहेको बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ लेआयोजना गरेको क्षेत्रीय प्रचारप्रसार समिति गठन प्रक्रियालाई सम्बोधन गर्दै उनले जुनसुकै मूल्यमा काँग्रेसको विजय हुन जरुरी रहेको बताए ।
लोकतन्त्र स्थापनाको लागि संविधान निर्माण काँग्रेसको अग्रसरतामा भएको स्मरण गर्दै उनले अव देशको विकास पनि काँग्रेसकै नेतृत्वमा हुने बताए ।
आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेएका राणाले वाम गठबन्धनले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई कुनै असर नपार्ने बताए ।
विसं २०७० को दोस्रो संविधान सभाको चुनावमा काँग्रेसले प्राप्त गरेको मतलाई सुरक्षित रुपमा कायम राख्न सकेमा मात्र लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित रहेको बताए ।
उक्त निर्वाचनमा काँग्रेसको पक्षमा सो क्षेत्रबाट १८ हजार ५०० मत प्राप्त गरेका थिए । सो क्षेत्रको १(क) मा काँग्रेसबाट ऋषिराम घिमिरे र १ (ख) मा मीनकृष्ण महर्जन उम्मेदवारी रहेका छन् ।
क्षेत्रीय सभापति राजनप्रसाद घिमिरेले चुनाव प्रचारप्रसारका लागि १०१ सदस्यीय मूल समारोह समिति निर्माण गरेको बताए ।