भोटमाग्न गएका उम्मेदवारसँग मतदाताले मागे आर्थिक विकासको खाका
अच्युत रेग्मी
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
252
Shares
उत्तरगया । रसुवाका जनताले आगामी निर्वाचनमा जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका छन् । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो गाउँ र जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका हुन् । उत्तरगया गाउँपालिका–४ का मतदाता सुन्तली विश्वकर्मा आफ्नो गाउँमा सडक जोडिदिने विकासप्रेमी नेतालाई भोट दिने बताउँछन् –“रसुवाका कयौँ बस्ती अझैसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन, सडक सञ्जाललाई जोड्ने नेतालाई भोट दिन्छु,”–विश्वकर्माले भने।
उत्तरगया गाउँपालिका–५ का मतदाता प्रह्लाद पौडेल बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने नेतालाई भोट हाल्ने बताए । “धेरै युवा बेरोजगार छन्, जुन नेताले युवालाई रोजगारको वातावरण मिलाउछ, त्यसैलाई भोट हाल्छौँ,”– उनले भने ।
कालिका गाउँपालिका–३ का मतदाता नवराज न्यौपाने जिल्लाको समग्र विकासको लागि योजना बनाउनसक्ने र पढेको योग्य उम्मेदवारलाई आफूले मतदान गर्ने बताउँछन् । “रसुवामा लाङटाङ, गोसाइँकुण्ड, तातोपानी, क्याग्जीङ, गणेश हिमाल, सोम्दाङ हिमाल, उत्तरगयाधामलगायत पर्यटकीय स्थल छन्, यसलाई चिनाउन पर्यटकलाई आकर्षण गर्ने नेताको खाँचो छ,”– न्यौपानेले भने।
उत्तरगयाका गाउँपालिकाका अर्को मतदाता अरुण अर्याल धेरै जलविद्युत् उत्पादन हुने रसुवाका जनतालाई शेयर दिलाउने नेतालाई मतदान गर्ने बताए । जिल्लामा उत्पादित जलविद्युत् आयोजनाको शेयर जिल्लाका जनताले धेरै पाउनुपर्ने उनको भनाइ थियो । रसुवामा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका इञ्जिनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन् ।
यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा (एमाले)का जनार्दन ढकाल, प्रदेश (क) मा नेकपा (एमाले) का कर्नेल लामा तथा प्रदेश (ख)मा नेकपा (माओवादी केन्द्र)का इन्द्र गोतामे चुनावी मैदानमा छन्।
पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । गत स्थानीय तहको मत परिणामअनुसार नेपाली काँग्रेस र नयाँ शक्तिको लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा एक हजार ५०० मतले अगाडि देखिन्छ । रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।
काँग्रेसका उम्मेदवार आचार्य जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । “म आफैँ इन्जिनियर हुँ, यो जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई थाहा छ,”– आचार्यले भने । नेकपा (एमाले)का उम्मेदवार ढकाल जिल्लाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । “जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमूना बनाउने मेरो योजना छ”– ढकालले भने । रसुवामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिकामा २७ वडा रहेका छन् ।रासस