माधव नेपालका बागी भन्छन् – पार्टीको कार्यकर्ता हेप्ने प्रवृत्तिविरुद्ध उम्मेदवारी दिएको हुँ
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
254
Shares
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचन निकै टाउको दुखाइ भएको छ। उनकै पार्टीका बागी उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले उम्मेदवारी दिएपछि काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार नेपाललाई टाउको दुखाइ भएको हो ।
०६४ को निर्वाचनमा काठमाडौं र रौतहटमै हार अनि ०७० को निर्वाचनमा दुवै ठाउँमा जित हासिल गरेका नेपाललाई यसपटक एक उम्मेदवारले एक ठाउँबाट मात्र चुनाव लड्न पाउने कानुन बनेपछि समस्या भएको हो ।
एमाले कार्यकर्ताहरुमा काठमाडौंका एमालेमध्ये केहीलाईमात्र काखी च्यापेर हिंड्ने सिद्धान्त बोकेको भन्ने आरोप माधव नेपाललाई लाग्दै आएको छ ।
शङखरापुर नगरपालिका निवासी श्रेष्ठले पार्टी नेतृत्वले सधै हेपाहा प्रवृत्ति राख्ने गरेकाले पनि आफू चुनावमा वाध्य भएर उत्रनु परेको हाम्राकुरालाई बताए ।
उनले शङखरापुरले पार्टीलाई खुवै मद्धत गरेको तर कहिल्यै पनि पार्टीले शङ्खरापुरलाई वास्ता नगरेको बताए ।
भेट्रान नेतासंग चुनाव लड्न सकिन्छ त भन्ने प्रश्नमा उनले भने ‘मैले कमरेड नेपाललाई हराउँछु भनेर चुनावमा लडेको होइन, तर मैले पनि सम्मानजनक मत पाउँछु यसमा कुनै शंका छैन ।’
विपक्षी दलको उम्मेदवारलाई फाइदा पुग्ने हो कि भन्ने प्रश्नमा उनले स्पष्ट भने, ‘कार्यकर्ता माया नगर्ने पार्टीले जित्नुभन्दा त काँग्रेसले जितेकै वेश ।’
किन यति निराश भए श्रेष्ठ ?
श्रेष्ठको क्षेत्र शङ्खरापुर नगरपालिकाले एमालेलाई सधै जिताएको छ । राम्रो पकड पनि छ ।
स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै नेकपा एमालेले नै जितेको थियो । श्रेष्ठले भने, ‘शङखरापुरले कहिल्यै पार्टीलाई गुनासो गर्ने काम गरेको छैन, तर पार्टीले कहिल्यै शङ्खरापुरलाई हेरेन, हामीलाई त मान्छे नै गनेन ।’
उनी माधव नेपालले गम्भीर भएर सोच्ने बेला आएको प्रतिक्रिया दिन्छन् । भन्छन् ‘माधव कमरेडलाई सिफारिस गर्दा मैले नै एक नम्बरमा हस्ताक्षर गरेको छु, तर शङ्खरापुरको प्रतिनिधित्व कतै हुनुपर्छ भनेको थिएँ, वास्ता भएन ।’
उनले भने, ‘पार्टीले नसोच्ने हो भने अहिले देख्दा एउटा क्षेत्र भनिएला तर यसले देशकै परिस्थितिमा असर पार्न सक्छ ।’
के फिर्ता लेलान् त श्रेष्ठले उम्मेदवारी ?
यो प्रश्नमा एमालेका बागी उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ निकै कटिबद्ध देखिए । उनी भन्छन्, ‘के का लागि उम्मेदवारी फिर्ता लिने ?’
अगाडि थप्छन्, ‘फिर्ता लिने सवाल आउँदैन, यदि पार्टीले ठूलो गल्ती भयो भनी आम माफी माग्छ भनेमात्र फिर्ता लिन सक्छु ।’
केही नरम हुँदै उनले भने, ‘माफी मागे कस्ताकस्ता अपराध त माफ गर्न सकिन्छ, यो पनि स्वभाविक हुन्छ, तर पेलेर अगाडि बढ्न खोजे अब शङखरापुर चुप लागेर बस्दैन, मलाई शङ्खरापुरमात्र होइन छिमेकका गाउँहरुले पनि पूर्ण साथ दिएका छन् ।’