जिल्लाकै एक्ली काँग्रेसकी महिला उम्मेदवार मन्त्री गुरुङ, भन्छिन् –समावेशी लोकतन्त्र रक्षाको लडाईं
प्रकाश धौलाकोटी
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
358
Shares
तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध रहेको बताएकी छिन् ।
बिहिबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङ्गमा प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्तापछि कोण सभामा बोल्दै राज्यमन्त्री गुरुङले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिंचाई र खानेपानी विकास, युवा र महिलाका मुद्धा उठान गर्न बताइन् ।
समावेशी लोकतन्त्रको जगमा मात्रै समाजको विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उनले यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिन आम मतदातालाई आग्रह गरेको बताइन् ।
तेह्रथुम जिल्लामा झण्डै साढे दुई दशकदेखि बामपन्थी शक्तिहरुले नै शासन गर्दै आएको भन्दै राज्यमन्त्री गुरुङले उनीहरुले गरेका कार्यहरु सबैलाई छर्लङ्ग भएको बताइन् ।
दुई पटक समानुपातिकबाट सांसद हुँदा आफुले सबै समय जिल्लाको विकास र समृद्धिका लागि खर्चिएको सम्झँदै राज्यमन्त्री एक पटक मौका दिएर हेर्न आम मतदातालाई आग्रह गरिरहेको बताइन् ।
नेतृ गुरुङले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारी दर्ता गराइन् ।
‘मलाई केन्द्रिय समितिले महिला भन्दै समानुपातिकबाट सिट सुरक्षित गर्न भनेकै हो,’ नेतृ गुरुङले भनिन्, ‘तर मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्ष उम्मेद्वारी दिएकी हुँ ।’
उनी जिल्लाकै एक्ली महिला उम्मेदवार पनि हुन् ।
उनीविरुद्ध बाम गठबन्धनका लागि नेकपा एमालेका भवानीप्रसाद खापुङसहित अन्य १० जना पुरुषहरुको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।