डोटी । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा काँग्रेसबाट वहालवाला यातायात मन्त्री विर बहादुर बलायर र वाम गठबन्धनबाट ऐमाले बैकल्पिक केन्द्रीय सदस्य प्रेम आलेमगरले उम्मेदवारी दिएका छन् । आले निवर्तमान सांसद समेत हुन् ।
प्रतिनिधिसभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा पाँच दलले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वेणीमाधव जोशी, नयाँ शक्ति पार्टी नेपालका चन्द्रदेव ओझा, विवेकशील साझा पार्टीका पुष्कर कुँवर, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठ र नेपाल दलित पार्टीका उमेश टेलरले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रदेशतर्फ ‘क’बाट नेपाली काँग्रेसको संसदीय बोर्डका सदस्य भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यस्तै, क्षेत्र ‘ख’बाट काँग्रेस नेता योगेन्द्र शाहीले मनोनयन दर्ता गरेका छन् ।
वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र‘क’मा नेकपा एमालेका डोटी जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र ‘ख’मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य त्रिलोचन भट्टले उम्मेदवारी दिएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट क्षेत्र ‘क’मा नरेश आलेले उम्मेदवारी दिएका छन् । जनमोर्चाबाट क्षेत्र ‘ख’मा पार्टी जिल्ला सचिव केशवनाथ योगीले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा राष्ट्रवादीका तर्फबाट प्रदेशसभा ‘क’का लागि बहादुर सिंह खड्का, विवेकशील साझा पार्टीका गणेशप्रसाद उपाध्याय, नयाँ शक्तिका कैलाशसिंह साउँद र नेपाल दलित पार्टीका कल्पना बागचनले उम्मेदवारी दिएका छन् ।
क्षेत्र ‘ख’बाट राप्रपाका राजप्रसाद जोशी, विवेकशील साझा पार्टीका रोशन पन्त र संघीय समाजवादी फोरमका मानवहादुर थापाले पनि उम्मेदवारी दिएका छन् ।