प्रचण्डले भने "वाम गठबन्धनमा दक्षिणपन्थी झुकाव पनि छ"
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
360
Shares
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताएका छन् ।
चितवन क्षेत्र नं ३ बाट बिहीबार प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताए । यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उनले बताए । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उनको भनाइ थियो ।
देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भने, "नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।"यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उनले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताए ।
सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहेका छन्।