मोरङका कार्यकर्ताद्वारा वाम गठबन्धनलाई सहयोग नगर्ने उदघोष
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
121
Shares
उर्लाबारी । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर १(क)मा उम्मेद्वार नउठाएको विषयलाई लिएर पार्टीका सबै जनवर्गीय संगठनले विरोध जनाएका छन् । सोमबार उर्लाबारी स्थित एमाले पार्टी कार्यालयलमा प्रेस विज्ञप्ति जारी गर्दै भातृसंगठनका स्थानीय कमिटीले विरोध गरेका हुन् ।
वामगठबन्धन गरी चुनावमा होमिएपछि एमालेले मोरंग क्षेत्र नम्बर १ (क)माओवादीका लागि छाडिदिएको छ । जसका कारण स्थानीय स्तरमा एमाले कार्यकर्तामाझ आक्रोश चुलिएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ –‘एमाले बलियो रहेको क्षेत्रमा उम्मेदवार खाली राखेकोमा हाम्रो आपत्ति हो ।
नेकपा एमालेभित्र लोकप्रिय, प्रभावशाली र सक्षम व्यक्ति हुँदाहुदैँ गठबन्धनको नाममा एमालेका आकांक्षीलाई पाखा लगाएर अर्को पार्टीलाई प्रदेश सुम्पिएको हुँदा यस क्षेत्रका कार्यकर्ताहरु हतोत्साहित भएका छन् । उम्मेदवारको सन्तुलन नमिलाइएको कारण निकट हार व्यहोर्नुपर्ने ठहर गरी यथाशिघ्र निर्णय सच्याउन हामी पार्टीका माथिल्लो कमिटीलाई आग्रह गर्दछौ । ’
कार्यकर्ताको आग्रहलाई वेवास्ता गरेको खण्डमा कुनैपनि चुनावी कार्यक्रममा सहभागी नहुने भन्दै सयौँको सख्ंयामा भेला भएका कार्यकर्ताहरुले चेतावनी दिएका छन् । विज्ञप्तिमा उर्लाबारीका युवा संघ,अनेरास्वीयु,अखिल नेपाल महिला संघ, किसान महासंघ, व्यपार व्यवसाय सम्बन्धित भातृ संगठन,शिक्षक÷प्राध्यापक सम्बद्ध संगठन, मजदुर सम्बद्ध संगठन, प्रेस चौतारी लगायतका संघ संस्थाका अगुवाको हस्ताक्षर रहेको छ ।