काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवारी दिएका प्रत्यासीले जिल्लाको विकासलाई मूल मुद्दा बनाएर निर्वाचनमा होमिने बताएका छन् ।
आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनीहरुले मुलुकमा भएका सबैखाले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने जिकिर गरे ।
निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेस भोजपुर–काठमाडौँ सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘चुनावी भेटघाट कार्यक्रम’ मा काँग्रेसकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझीले राजनीतिक विचारको लडाई लडेको धेरै समय भइसकेकाले अब सबै एकताबद्ध भई मूल मुद्दा विकासलाई लिएर नेतृत्व अघि बढ्नुपर्ने बताए ।
उनले भोजपुरलाई एकीकृत विकासको नमूनाका रुपमा अघि बढाई पाँच वर्षमा जिल्लामा १०० मेगावाट विद्युत् उत्पादन गर्ने योजना सुनाए ।
सोही पार्टीबाट जिल्लाको प्रदेशसभा (ख) को उम्मेदवार बन्नुभएका गोविन्दबहादुर कार्कीले नेतृत्वको कमजोरीले भोजपुर विकासमा पछि परेको भन्दै अबको नेतृत्व विकासप्रेमी चाहिने खाँचो औँल्याए ।
कार्यक्रममा पूर्वमन्त्री शंकर कोइरालाले भोजपुरले ‘मिसन र भिजन’ भएको सक्षम उम्मेदवार पाएकाले उनीहरुलाई विजयी गराउन आह्वान गरे।
भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले सक्षम नेतृत्वलाई विजयी गराउन जिल्लावासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिृ ।
समितिका अध्यक्ष केदार कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय ढंगले लाग्न आग्रह गरे ।
कार्यक्रममा नेताहरु बालकृष्ण थापा, गणेश राई, शिव खत्री, शान्तकुमार प्रधानलगायतले निर्वाचनका लागि केन्द्रभन्दा जिल्ला केन्द्रित हुन अनुरोध गरे।