प्रतिनिधी र प्रदेशसभाका लागि पाँचथरमा ११ वटा दलहरुको मनोनयन दर्ता
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
397
Shares
पाँचथर। मंसिर १० गते हुने प्रतिनिधी र प्रदेशसभाका लागि पाँचथरमा ११ वटा दलहरुले मनोनयन दर्ता गरेका छन्। बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेस, वाम गठबन्धनका एमाले र माओवादी केन्द्र, संघीय समाजवादी फोरम र संघीय लिम्बूवान मञ्च नेपाल,नयाँशक्ति पाटी नेपाल, राष्ट्रिय जनमुक्ति पाटी, राप्रपा राष्ट्रवादी,मंगल नेशलन अर्गनाइजेशन लगायतले मनोनयन दर्ता गरेका हुन्।
राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेशसभा (क) मा कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र (ख) का लागि महासमिति सदस्य सुरेन्द्रकुमार दाहालको उम्मेद्वारी दर्ता गराएको हो।
वाम गठबन्धकाबाट प्रतिनिधिसभाका लागि एमालेका बसन्त नेम्वाङ र प्रदेशसभा (क) का लागि निवर्तमा सांसद गणेश काम्वाङ र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मौसम लिम्बूको उम्मेद्वारी दर्ता गराएको हो।
संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाका लागि प्रेमराज लावती र प्रदेशसभा (क ) का लागि बृखबहादुर वाइवा र (ख) का लागि एविराज आङ्देम्बेको उम्मेद्वारी दिएको हो। त्यस्तै संघीय लिम्बूवान मञ्च नेपालले पनि प्रतिनिधि सभाका लागि सागर केरुङ र प्रदेशसभा (क) मा हर्कजंघ लिङ्देन (ख) का लागि लावाहाङ चेम्जोङको उम्मेद्वारी दर्ता गराएको हो।
राप्रपा प्रजातान्त्रिकले प्रतिनिधी सभाका लागि राज कुमार जोशी,प्रदेश तर्फ प्रदेशसभा क मा कृष्ण बहादुर योङया, ख मा सगुनसुन्दर लावतीको उम्मेद्धवारी दर्ता भएको हो। उम्मेदबारहरुमाथी दावी विरोध गर्ने समयवधि भने भोली विहान १० बजे सम्मलाई तोकिएको छ। त्यतिबेला सम्म कुनै उम्मेदबार अयोग्य छ भने निर्वाचन कार्यालयमा गोप्य वा सार्वजनिक रुपमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदबारहरु माथी परेको दावी विरोधका बारेमा भोली दश बजेपछि नै छानविन सुरु गरी त्यसका आधारमा कात्तिक सात गते अर्थात् पर्सी बेलुका पाँच बजे सम्ममा फेरी उम्मेदबारहरुको नामावली प्रकाशित गरिने छ।
कुनै कारणले कसैको उम्मदेबारी फिर्ता भएमा ती व्यक्तिको नाम हटाएर निर्वाचन कार्यालयले आठ गते उम्मेदबारहरुको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ। उम्मेदबारहरुको अन्तिम नामावली प्रकाशित गरेपछि उनीहरुलाई पार्टीको उम्मेदबार हो भने पार्टी अनुसारको र स्वतन्त्र हो भने त्यही अनुसारको निर्वाचन चिन्ह आयोगले तोक्ने कार्यतालिका रहेको छ।
आठ गते उम्मेदबारहरुको अन्तिम नामावली र निर्वाचन चिन्ह प्रकाशित भईसकेपछि त्यसको भोलीपल्ट अर्थात् कात्तिक ९ गते देखि निर्वाचन आयोगले मतपत्र छपाईपनि सुरु गर्ने भएको छ। प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो।