पाल्पा। जिल्लाको बग्नासकाली गाँउपालिका १ की रुपा कुमालले म्यादी प्रहरीमा भर्नाको लागि दरखास्त दिइन्। एस. एलसी सम्म अध्ययन गरेकी उनी उत्साहित हुदै जिल्ला प्रहरी परिसरमा लाईनमा बसेकी थिइन्। फुर्सदको समयलाई सदुपयोग पनि हुने ,घर खर्च चलाउन आर्थिक रुपमा टेवा पुग्ने , उनले भनिन्, त्यही भएर फारम भरेकी हुँ। उनी सँगै आएकी अञ्जु श्रेष्ठले पनि म्यादी प्रहरी भर्नामा दरखास्त दिइन्।
कक्षा १२ पास गरीसकेकी श्रेष्ठले फुर्सदको समय अस्थायी रुपमा भए पनि देशको सेवा गर्न मन लाग्यो त्यही भएर २ घण्टा देखि लाईनमा बसेर फारम दिएँ। उनीहरु जस्तै अर्घाखाँची पोखराथोककी श्याम कुमारी सूर्यवंशीले पनि भर्नाको लागि आवेदन दिइन्। नानी बाबु पढाउन तानसेन आएकी सूर्यवंशीले भनिन् दुई महिने जागिर रहेछ,नानी बाबुको लागि पढाई खर्च पनि जुट्ने र फुर्सदको समय पनि सदुपयोग हुने भएकाले अस्थायी रुपमै भए पनि जागिर खाना मन लाग्यो।
३० महिना जति विदेश बसेर आएका बग्नासकाली गाँउपालिका ७ का सुरज पाठक पनि दिउँसोको टन्टालापुर घाममा लाइन बसेर दरखास्त दिए। केही गरे पनि आफ्नै देशमा पसिना बगाउनु पर्छ भन्ने लागेर अस्थायी रुपमै भए पनि म्यादी प्रहरीमा भर्न हुन आएको उनले बताए। आफ्नो देशलाई कुनै न कुनै क्षेत्रबाट सेवा गर्नु पर्छ भन्ने सेवाभावले आफु आएको पाठकले बताए। यि बाहेक पहिलो चरणको स्थानीय निर्वाचनमा खटिएका म्यादी, विद्यार्थी, नव युवा युवती, प्रहरी सेनाबाट सेवा निवृत्त लगायतको म्यादी प्रहरीमा आकर्षण रहेको छ।
मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी जवान सरह सेवा सुविधा दिने गरि ५५ दिनको लागि सरकारले म्यादी प्रहरीमा जागीर खुलाएको हो। गत अशोज २४ गते देखि ३० गते सम्म भर्ना लिएको थियो। एक हप्ता सम्म लिएको भर्नामा पाल्पामा २ हजार ६६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।