'सुरक्षित स्थान'मा प्रहरीको छापा, १२ जुवाडेबाट साढे तीन लाख बरामद
प्रकाशित २०७४ असोज १९ बिहिबार
268
Shares
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो ।
मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ । धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ । रासस