भक्तपुर कांग्रेसले गर्यो २३ उम्मेदवारको सिफारिस, को को परे ?
प्रकाशित २०७४ असोज १९ बिहिबार
149
Shares
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि २३ नेताहरुको नाम उम्मेदवारमा सिफारिस गरेको छ । दुई क्षेत्र र चार प्रदेश क्षेत्र गरी ६ जना उम्मेदवारका लागि कांग्रेसले २३ जना नेताहरुको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।
कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले प्रतिनिधिसभाका लागि दुई क्षेत्रबाट तीनतीन जना नेताहरुको नाम सिफारिस गरिएको जानकारी दिए ।
चार वटा प्रदेश क्षेत्रका लागि भने तीनवटाबाट ३–३ र एउटाबाट ८ जनाको नाम सिफारिस गरिएको उनले बताए ।
उनका अनुसार क्षेत्रीय समितिबाट सिफारिस भएर आएकै नाउँमा केही सच्याएर केन्द्रमा सिफारिस गरिएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ का लागि वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, यादवप्रसाद अधिकारी र नवराज दाहालको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका परेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा परेका दुई प्रदेशमध्ये १ मा क्षेत्रीय सभापति जीवन खत्रीसहित आठ जनाको नाम सिफारिस गरिएको छ ।
उक्त प्रदेशमा सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० का मतदाताले मतदान गर्नेछन् ।
उक्त प्रदेशमा खत्रीसँगै प्रवीण बन, कृष्णलाल भडेंल, किरण न्यौपाने, सुरेश श्रेष्ठ, धर्मराज थापामगर, मनोजकुमार थापा र यज्ञविक्रम थापाको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला सदस्य रवीन्द्र प्रधानले जानकारी दिए ।
भक्तपुर नपाको १ देखि ९ वडासम्मका मतदाताहरुले मतदान गर्ने दोस्रो प्रदेशका लागि रवीन्द्र प्रधान, नारायणप्रसाद तमखु र अनिल भुजूको नाम सिफारिस गरिएको छ ।
त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र २ को लागि भने वर्तमान सांसद रामेश्वरप्रसाद ढुंगेलसँगै जिल्ला सभापति दुर्लभ थापा र वरिष्ठ पत्रकार कविर राणाको नाम सिफारिस गरिएको छ ।
उक्त निर्वाचन क्षेत्रअन्तर्गत मध्यपुर थिमि नपा र सूर्यविनायक नपा पर्छन् ।
जसमध्ये सिंगो मध्यपुर थिमि नगरपालिका परेको प्रदेशसभाको लागि निवर्तमान जिल्ला सभापति गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ र नगर सभापति सुरेन्द्र श्रेष्ठको नामलाई जिल्ला समितिले टुंग्याएर केन्द्रमा पठाएको छ ।
त्यस्तै सिंगो सूर्यविनायक नगरपालिका रहेको अर्को प्रदेशसभाका लागि क्षेत्रीय सभापति नारायणभक्त खायमलीसँगै सुशील बस्नेत र उद्धव सिलवालको नाम सिफारिस गरिएको छ ।