काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रकाशित २०७४ असोज १८ बुधबार
114
Shares
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बिहान बस्दैछ । मंगलबार निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन बनेपछि सशंकित काँग्रेसले अब कसरी अगाडि बढ्ने भनी गम्भीर
रुपले छलफलमा बस्ने जनाएको छ ।
नेपाली काँग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक बिहान ११ बजे सुरु हुने जनाएका छन् ।
बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषय नै मुख्य हुने उनले जानकारी दिए ।
पौडेलले समसामयिक विषय अन्तर्गत मंगलबार भएको बाम एकता नै पर्ने पनि जनाएका छन् ।
यसअघि मंगलबार बसेको काँग्रेसका शीर्ष नेता तथा प्रभावशाली केन्द्रीय सदस्यहरुको बैठकले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको थियो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।