एमालेबाहेकका परिवर्तनकारी शक्तिसँगमात्रै तालमेल गर्छौंः डा. महत
प्रकाशित २०७४ असोज १६ सोमबार
268
Shares
काठमाडौं। प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाहेकका परिवर्तन एवम् संविधान संशोधनका पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन्। सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरुसँग चुनावमा तालमेल गर्ने बताएका हुन्। उनले भने,‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीय तहको आवश्यकत्ता अनुसार हामी चुनावी गठबन्धन बनाउँछौं, तर एमालेसँग अहिले तालमेल हुँदैन्।’
आयोजित साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायवीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए। उनले थपे,‘एमालेले समूह समूहवीच विभाजन ल्याउने काम गर्यो, संविधान संशोधनप्रति उसको दृष्टिकोण नै अर्को रह्यो, त्यसैले तत्कालिन अवस्थामा एमालेसँग सहकार्यको कुनै संभावना छैन।’ यद्धपी उनले एमालेसँग स्वस्थ प्रतिष्पर्धा हुने विश्वास दिलाए।
नेता महतले एमालेले अहिले कायम रहेको कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धन तोड्ने प्रयास गरेपनि त्यो संभव नरहेको जिकिर गरे। उनले भने,‘माओवादीले हामीसँगको गठबन्धन तोड्ला भनेर हामीले अपेक्षा गरेकै छैन, हामीवीचको समझदारी तोड्न खोज्नेहरु नै असफल हुन्छन्।’ उनले एमालेले तत्कालिन फाईदाको लागि मात्रै हेर्ने गरेको र त्यही स्वार्थ अनुसार नै रणनीति अपनाईरहेको आरोप लगाए।
त्यस्तै उनले तोकिएकै समयभित्र पार्टीले उम्मेद्धवारको टुँगो लगाउने विश्वास दिलाए। उनले भने,‘१७ गतेभित्र जिल्लाबाट नाम आउनुपर्छ, आएन भने पार्टीले कडा एक्सन लिन्छ।’ महतले भोलि वा पर्सी नै केन्द्रिय समितिको बैठक बसेर संसदीय बोर्ड गठन गर्ने समेत जनाए।
एमालेले हिजो गरेको तालमेलसम्बन्धीको निर्णयबारे प्रतिक्रिया दिँदै महतले भने,‘अब उहाँहरुले राष्ट्रभक्तीसँग तालमेल गर्ने अरे, यो देशमा हामीभन्दा बढि राष्ट्रभक्ति र राष्ट्रवादी उहाँहरु ?, म त भन्छु हामीभन्दा ठूलो राष्ट्रवादी अरु कोही छैन्।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषण गरेर चुनावी प्रचारमा जाने स्पष्ट पारेका छन्। ज्ञवालीले भने,‘केन्द्रिय समितिको बैठकमा पनि धेरै साथीहरुले यही कुरा उठाउनुभएको छ, अब बस्ने स्थायी कमिटिको बैठले यसबारेमा निर्णय लिन्छ।’
नेता ज्ञवालीले पनि अबको निर्वाचन आफ्नो पार्टीले आफ्नै खुट्टामा र बलुबुतोमा लड्ने तागद राख्ने बताए। यद्धपी उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि र स्थायित्व कायम गर्नको लागि बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशील शक्तिहरुसँग गठबन्धन बनाउने पार्टीले निर्णय लिएको सुनाए।
ज्ञवालीले एमालेले एक्लै सरकार बनाउने सक्ने भएपनि मुलुक र जनतालाई बृहत्तर राजनीतिक एकता आवश्कत्ता भएकोले आफूहरुले यस्तो प्रस्ताव अघि सारेको हो । यद्धपी उनले यसबारेमा अन्य पार्टीहरुको धारणाा कस्तो आउँछ त्यो भने हेर्न बाँकी नै रहेको स्पष्ट पारे।
त्यस्तै उनले आफ्नो पार्टीले कसैको गठबन्धन भत्काउन नखोजेको समेत स्पष्ट पारे। उनले भने,‘हामी कसैको गठबन्धन भत्काउन चाहाँदैनौं, किनकी उहाँहरुको त्यो गठबन्धनलाई हामीले फेस गरेर नै आएको हो, हामी त देश हितको लागि राष्ट्रिय एकता बलियो बनाउनको लागि यस्तो प्रस्ताव गरिरहेका छौं।’ यद्धपी उनले कांग्रेससँग भने आफूहरुको कुनै तालमेल नै नहुने जिकिर गरे। ज्ञवालीले थपे,‘कांग्रेसको घोषित नीति नै दुई वटा पार्टी मिल्नै हुँदैन भन्ने छ, त्यसैले हामी उहाँहरुसँग स्वस्थ प्रतिष्पर्धा गर्छौं।’
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अबको निर्वाचनमा आफ्नो पार्टीले अप्राकृतिक गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता बाध्य भएर मानेको भनेर स्वयम एमाले नेताहरुले भनेकोले एमालेबाहेकका परिवर्तनकारी शक्तिहरुसँगमात्रै तालमेल हुने बताए।
नेता श्रेष्ठले संघीयता र समाजवाद विचाराधारा बोकेका र संविधान संशोधन प्रस्तावको पक्षमा उभिएका शक्तिहरुसँग गठबन्धन हुने जनाए। यद्धपी उनले संविधान संशोधनलाई राष्ट्रघाती भन्नेहरु पनि अहिले तालमेलको लागि तयार भएको कुरालाई अनौंठो रुपमा लिन नहुने बताए। उनले तालमेलको लागि आफ्नो पार्टीले अहिले नै ढोका बन्दको नीति भने नलिएको जिकिर गरे । उनले थपे,‘हामी तालमेलको लागि खुल्ला छौं।’
उनले देशमा परिवर्तनकोलागि शासकीय स्वरुपमा परिवर्तन ल्याउन जरुरी रहेकोले आफूहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति केन्द्रमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा हुनुपर्ने पक्षमा रहेको सुनाए। राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले अबको निर्वाचनमा आफ्नो पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गर्ने भनेर पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे।
उनले भने,‘हामी अबको निर्वाचनमा मुलतः मधेश केन्द्रित दलहरुसँग नै तालमेल गर्छौं, त्यसको लागि पहिलो प्राथमिकतामा उपेन्द्रजीको फोरम नेपाल नै हो।’ त्यस्तै उनले संविधान संशोधन पक्षधर शक्तिहरुसँग पनि आफूहरुको तालमेल हुने जनाए।
महासचिव सुमनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा र फोरम नेपालवीचको अन्तर खासै नभएको र दुवैपार्टीवीच तालमेल नभएकोले त्यसको फाईदा अरुले उठाएको बताउँदै अब त्यस्तो गल्ती गर्न नहुने धारणा राखे । उनले आफूहरु शतप्रतिशत स्थानमा तालमेल गर्ने पक्षमा रहेको समेत जनाए । यद्धपी तालमेल हुन नसकेको स्थानमा भने स्वस्थ प्रतिष्पर्धा हुने उनको विश्वास थियो।