माओवादीका प्रतिनिधिले बखेडा निकालेपछि बारागढीमा ३६ घण्टादेखि मत गणना रोकियो
प्रकाशित २०७४ असोज ५ बिहिबार
401
Shares
काठमाडौं । माओवादीका प्रतिनिधिले अनावश्यक बखेडा निकालेपछि स्थानीय तहको तेस्रो चरणको निर्वाचन मतगणना ३६ घण्टादेखि रोकिएको छ । आफू बाहिर गएको बेला सिल तोडिएको भन्ने माओवादी केन्द्रका उपाध्यक्षका प्रतिनिधिको दाबी पछि गाउँपालिकामा बुधबार विहान ११ बजेदेखि मतरोकिएको निर्वाचन अधिकारी रमेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार विभिन्न ६ वडामा छुट्टाछुट्टै टोली बनाएर एकैपटक मतगणना सक्ने हिसावले मतगणना कार्य सुरु गरेको भएपनि वडा नं ६ को एउटा मतदान केन्द्रको पेटिकाको सिल तोड्ने बेलामा आफू बाहिर गएको विषयलाई लिएर माओवादीका प्रतिनिधिले बखेडा निकालेका थिए । उनीहरुले कूल १७ सय मत गन्दा यस्तो विवाद निकालेका हुन् । यो बीचमा पटकपटक कुरा मिलाउन खोज्दापनि कुरा नमिलेको घिमिरेले जानकारी दिए ।
तर अहिले पछिल्लो समयमा भने उनीहरु भन्दा पनि सबै अन्य दलहरुले मतगणना सुचारु गर्नको लागि निर्वाचन अधिकारीको कार्यालयमा पत्र बुझाउन थालेका छन् । त्यसैले शुक्रबार विहानसम्म कुरा मिल्ने सम्भावना रहेको भन्दै शुक्रबार पनि कुरा नमिले विवाद आयोगमा पठाईने बताए । उनले सबैभन्दा पहिले आफूले मतपरिणाम सार्वजनिक गर्ने प्रयास गरेका भएपनि सानातिना झमेलाले आफूलाई समस्या गराएको गुनासो पनि गरे । गाउँपालिकामा १० हजार ५ सय मत खसेको छ ।