प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने
प्रकाशित २०७४ भदौ २९ बिहिबार
159
Shares
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको चुनावी खर्च सीमा तोक्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन भड्किलो भएको आलोचना भइरहेका बेला आयोगले प्रदेश र प्रतिनिधिसभाको खर्च सीमा १४ लाख सम्म तोक्ने तयारी गरेको बताइँदै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सार्ने तयारी छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजना र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको बताएका छन् ।
उनले राजनीतिक दलको सुझावका आधारमा वस्तुनिष्ट निर्वाचन खर्च निर्धारण सकिने विश्वास व्यक्त गरेका छन् । यद्यपि, चिन्तकहरुले आयोग आफ्नो भूमिकाबाट विचलित भएको र अरुको निर्देशनमा चल्न थालेको बताएका छन् ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भूगोल फराकिलो भएकाले निर्वाचन खर्च केही बढ्न गएको बताएको छ । विहिबार निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च निर्धारणका विषयमा सुझाव लिन दलका नेताहरुलाई छलफलमा बोलाएको थियो ।
आयोगले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ ।
त्यही आधारमा राजनीतिक दलहरुकै सुझावको आधारमा आयोग खर्च निर्धारण गर्न व्यस्त छ । सरकारले आउँदो मंसीर १० र २१ गते दुई निर्वाचन एकै पटक २ चरणमा गर्ने भन्दै मिति घोषणा गरेको छ । आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।