काँग्रेसको केन्द्रीय टोली बिहिबार सर्लाही र रौतहटमा, देउवा दुई ठाउँमा र गगन सात ठाउँमा पुग्ने
प्रकाशित २०७४ भदौ २९ बिहिबार
162
Shares
काठमाडौं । चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली बिहिबार सर्लाही र रौतहट पुग्ने भएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले बिहिबार सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनीहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नेछन् । उनले अपरान्ह ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्नेछन् ।
सभामा देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रममा रहेको काँग्रेस प्रचार प्रसार उपसमितिको तर्फबाट रौतहट प्रतिनिधि अजयबाबु सिवाकोटीले जानकारी दिए ।
रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि देउवा सहितको टोली पर्साको वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
वीरगन्ज र बाराको कलैयामा भोली काँग्रेसको आमसभा हुने भएकाले बिहिबार बेलुका उनीहरु वीरगञ्ज बस्ने भएको काँग्रेसले जनाएको छ ।
काँग्रेसको शिर्ष टोली बुधबार धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवासमा भएका चुनावी सभामा सहभागी भएको थियो ।
काँग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापा भने बिहिबार एकैदिनमा रौतहट, बारा, पर्सा र सर्लाहीमा हुने सात ओटा कार्यक्रममा सहभागी हुनेछन् ।
रौतहटको गजरा नगरपालिकामा अहिले विहान नौ बजे चुनावी सभा हुन लागेको छ भने रौतहटकै विजयपुर, कथहरीया नगरपालिकामा पनि कार्यक्रम हुनेछ ।
त्यसपछि उनी बाराको कोल्भी, सर्लाही र पर्साका विभिन्न ठाउँमा हुने कार्यक्रमहरुमा सहभागी हनेछन् ।
चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गरेको छ ।