२ नम्बर प्रदेशमा आचारसंहिताको चरम उल्लंघन, साढे तीन सय उजुरी
प्रकाशित २०७४ भदौ २८ बुधबार
161
Shares
काठमाडौं । दुई नम्बर प्रदेशमा असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनको चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लंघनका थुप्रै घटना भएका छन् ।
निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका ३ सय ५० उजुरी परेका छन् । पूर्व निर्वाचन आयुक्तहरुले पहिलो र दोस्रो चरणको निर्वाचनको तुलनामा यो आचारसंहिता उल्लंघनका घटनामा कमि आउनु पर्नेमा ठिक उल्टो भएको बताएका छन् ।
३५ जनालाई स्पष्टिकरण सोध्ने काम भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।
यसरी स्पष्टिकरण सोधिएकाहरुमा राजनीतिक दलका मुख्य नेतादेखि स्थानीय तहका उम्मेदवारसम्म छन् । ठूलो प्रकारका कसुर नगरेका कारण उनीहरुसँग स्पष्टिकरण मागेर सचेत गराउने काम भएको ढकालले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले आचारसंहिता नमिचेको बताएका छन् । यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत आफुहले आचारसंहिता नमिचेको बताएका छन् ।
आयोगले २ नम्बर प्रदेशका जिल्लाहरुमा आचारसंहिता उल्लंघन भए नभएकोबारे अध्ययनका लागि सहसचिव र उपसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको छ । केही दिन अघि निर्वाचन आयोगका चार जना आयुक्तहरुनै २ नम्बर प्रदेशको निरीक्षण गरेर फर्किएका छन् । अनुगमनका लागि कयौँ पर्यवेक्षक समेत खटाइएको प्रवक्ता ढकालले जानकारी दिए ।
यस्तै, सहसचिव र उपसचिवको अनुगमन टोलीले बारा, धनुषा लगायतका जिल्लामा भड्किलो चुनावी प्रचार गरिएका तुल ब्यानर हटाउने काम गरेको ढकालले बताएका छन् । २ नम्बर प्रदेशमा चुनाव प्रचारप्रसारका क्रममा व्यापक आचारसंहिता उल्लंघन भएको गुनासो बढिरहेको छ ।
भारतीय नम्बर प्लेटका सवारी साधानको प्रयोग, भड्किलो चुनाव प्रचार, बालबालिकाको प्रयो लगायतका घटनाक्रम सुनिएका छन् । यस्तै, मन्त्री तथा सांसदहरुबाट पनि आचारसंहिता उल्लंघन भएको भन्दै उजुरी परेको छ । प्रधानमन्त्री आफैले भोट माग्दै हिँडेको भन्दै निकै आलोचना भएको छ ।