सिरहा नगरका काँग्रेस मेयरको घोषणा : भ्रष्टाचार हटाउने देखी युवाहरुलाई रोजगारी सृजना गर्ने सम्म
दिपेन्द्र यादव,
प्रकाशित २०७४ भदौ २८ बुधबार
606
Shares
सिरहा । प्रदेश नम्बर दुईमा असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सबै राजनीतिक दलका नेताहरु आ–आफ्नो चुनावी एजेण्डासहित होमिएका छन् । आफ्ना योजनाहरु जनतामाझ बुझाउँदै मत मागिरहेका छन् ।यसैबीच, नेपाली काँग्रसका सिरहा नगरपालिका मेयरका उम्मेदवार डा. सुभाष चन्द्र यादवले ‘सिरहा नगर घोषणा पत्र’ जारी गरेका छन् । घोषणा पत्रमा उनले भ्रष्टाचार हटाउने देखी युवाहरुलाई रोजगारी सृजना गर्ने उल्लेख गरेका छन् ।
‘भ्रष्टाचार मुक्त’ नगरपालिका बनाउन अभियान चलाउने, नगरको विकासका लागि ५ वर्षे गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने, सामुदायिक विद्यालय तथा मदर्साहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्था गर्ने, सिरहा नगरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रसुति सेवा एवं शल्यक्रियासहितको अस्पताल व्यवस्थापन गर्ने तथा वडा स्तरीय स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउने, नगरका २२ वटै वडामा सार्वजनिक शौचालय, सडक, स्वच्छ खानेपानी, ढल-नाला निर्माण लगायतका पूर्वाधार विकास गर्ने, २२ वटै वडालाई छुने गरी रिंग रोड निर्माण गरी नगर बस सञ्चालन गर्ने, किसानहरुका लागि प्रत्येक वडामा विद्युतीकरण, कुलो पुर्याई कृषि सिंचाईको व्यवस्था गर्ने तथा सहुलियत दर र सहजरुपमा विउ विजन, मलखाद्य उपलब्ध गराउन व्यवस्था गर्ने, सिरहा नगरपालिकाको पुरानो बजारमा बनेका घरहरुको नक्सा पास नभएकोले बैँकहरुबाट ऋण, नयाँ घर बनाउन तथा अन्य कारोबार गर्न अप्ठयारो भइरहेकोमा घरको नक्सा पास गर्ने व्यवस्था मिलाउने, उनले घोषणा पत्रमा भनेका छन् ।
सिरहा नगरमा बसोवास गर्ने हरेक नेपाली नागरिकलाई सहजरुपमा नागरिकता उपलब्ध गराउन उचित व्यवस्था गर्ने, सेवा प्रदायक मालपोत, नापीलगायतका कार्यालयहरुबाट सर्वसुलभ तरिकाबाट सहज रुपमा सेवा प्रदान गर्न व्यवस्था मिलाउने, सिरहा नगरपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने, ज्येष्ठ नागरिक, वालपोषण, एकल महिला जस्ता सामाजिक सुरक्षाअन्तर्गतका भत्ताहरु वडा कार्यालयमार्फत घरघरमा पुर्याउने व्यवस्था गर्ने तथा अपाङ्गहरुलाई निःशुल्क रुपमा ह्वीलचेयर उपलब्ध गराउने, स्वच्छ, सफा, हराभरा एवं सौर्य वत्तिको प्रविधिसहित नगरको रुपमा सिरहा नगरपालिकालाई नमूना शहर बनाउने, धार्मिक, पर्यटन प्रवद्र्धनका लागि राजा सल्हेशको गाथा जोडिएको पवित्र धार्मिक स्थल सिरहा नगरपालिकाको सल्हेश मन्दिर, सारश्वरनाथ महादेव स्थान, माडरको काली मन्दिर, सिरहाको रामजानकी मन्दिरलगायत नगरभरिका अन्य मन्दिर, मस्जिद धार्मिक तथा पुरातात्विक महत्वका स्थललाई पर्यटन पूर्वाधारको रुपमा विकास गर्ने तथा धार्मिक पर्यटनसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा सिरहा नगरपालिकालाई नमुना बनाउने । यी धार्मिक स्थलहरु समेटिने गरी पर्यटकीय सडक निर्माण गर्ने ।
नगरपालिकामा महिला समूह, युवा समुह गठन गरी आयमूलक, सीपमूलक तालिमको व्यवस्था गर्ने तथा तालिम प्राप्त गरेकाहरुलाई रोजगारीको श्रृजना गर्ने, खेलकुदको उचित विकास र प्रवद्र्धनका लागि सिरहा नगरलाई खेलकुदको ‘हब’ को रुपमा विकास गर्ने, साथै वडा नम्बर ३ मा रहेको रंगशालालाई भौतिक पूर्वाधारसहितको स्तरोन्नति गरी संचालनमा ल्याउने, व्यवस्थित बसपार्क सञ्चालन गर्ने, गाउँ र नगर वनको अवधारणासहित हरियाली खुल्ला ठाउँको व्यवस्था गर्ने तथा पार्क र मनोरञ्जन स्थलको निर्माण गरिने बताएका छन् ।
सिरहा नगरपालिकाभित्रका हाटबजारलाई व्यवस्थित गर्ने, विपन्न, दलित छात्रछात्राहरुलाई विद्यालय पहुँचका लागि छात्रवृति एवं पुरस्कारको व्यवस्था गर्ने, सिरहा नगरपालिकामा सामुदायिक विद्यालयबाट उतिर्ण भएका विद्यार्थीहरुमध्ये प्राविधिक शिक्षा हासिल गर्न विपन्न वर्गका परिवारका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने, सशस्त्र द्वन्द्व तथा अन्य द्वन्द्वमा नेपाल सरकारको अभिलेख अनुसार शहिद भएका परिवारका छोराछोरीहरुलाई दोहोरो नपर्ने गरी छात्रवृति प्रदान गर्ने, नगरपालिकाको २२ वटै वडाका प्रमुख चोकमा ‘वाइफाई जोन’ निर्माण गर्ने साथै विदेशमा रहेका आफन्तहरुसँग कार्यालय समयमा निःशुल्क रुपमा ‘भिडियो कल’को व्यवस्था गर्ने, बेरोजगारी समस्याको समाधानका लागि सिरहा नगरलाई औधोगिक नगरीको रुपमा विकास गर्न उद्योगपति तथा लगानीकर्तालाई प्रोत्साहित गर्ने, असंगठीत मजदुरहरुको निम्ति परिचयपत्र तथा श्रम पसल सञ्चालन गर्ने, वृद्धाश्रमको व्यवस्था गर्ने, प्रत्येक वडामा सामुदायिक भवन तथा सूचना केन्द्रको स्थापना गर्ने, सुविधा सम्पन्न नगरसभा हल तथा विवाह भवन निर्माण गर्ने, नगरका गाउँहरुलाई बाढीबाट बचाउन खोलाहरुमा तटबन्ध निर्माण गर्नेलगायत विभिन्न किसिमका विपतहरु बाढी, आगलागी, हुरी वतास, शीतलहर, झाडापखाला, महामारी, सर्पदसं, सडक दुर्घटना समेतलाई मध्यनजर गरी नगर स्तरीय विपद् व्यवस्थापन योजना बनाई कार्यान्वयनमा ल्याउने, हिंसापीडित महिलाहरुलाई बस्नका लागि सुरक्षित आवास निर्माण गर्ने, लागू औषध दुव्यर्सनीहरुको लागि पुनस्र्थापना केन्द्र स्थापना उनको घोषणापत्रमा उल्लेख गरिएका छन् ।