arrow

पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान : मन्त्री पोखरेल

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Paryatan-Mantri-Pokharal-Photo-29.jpg.jpeg
भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान सुरु गरेको बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पर्यटनको विकासमार्फत गाउँगाउँका नागरिकको आर्थिक समृद्धि गर्न मन्त्रालयले होम स्टे अभियान सुरु गरेको बताउनुभएको हो । घरघरमा होम स्टे पर्यटनको विकास गर्ने अहिले अवसर भएको बताउँदै उहाँले पुनःनिर्माणका क्रममा नयाँ बन्ने घरमा अनिवार्य रुपमा दुईवटा कोठा पर्यटकका लागि बनाउनुपर्ने व्यवस्था गर्न सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । 
 
पर्यटन क्षेत्रको विकासले मात्रै नागरिकको आर्थिक विकास हुने मन्त्री पोखरेलको भनाइ थियो । “नगरकोट आएर हिमाल हेरेर र ५५ झ््याले दरबार हेरेर मात्रै पर्यटक फर्कने जमाना होइन, अब प्रत्येक घरघरमा होम स्टेको विकास गरेर कम्तीमा पनि दुई दिन पर्यटकलाई होम स्टेमा राख्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ” उहाँले भन्नुभयो । आगामी ६ वर्षभित्र भूकम्पले भत्किएका सबै धार्मिक तथा ऐतिहासिक मठ–मन्दिर एवम् सम्पदाको पुनःनिर्माण सम्पन्न गरेर दुरुस्तै बनाइने मन्त्री पोखरेलले बताउनु्भयो । 
 
सयवर्ष पूरा भएका पुरातात्विक सम्पदाको पुनःनिर्माण प्राधिकरणमार्फत गरिने बताउँदै उहाँले त्यस्ता सम्पदाको अभिलेख दिन स्थानीय निकायसँग माग गर्नुभयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेत, सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, पूर्व सांसद लेखनाथ न्यौपाने, प्रमुख जिल्ला अधिकारी तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलगायतले नयाँ नगरपालिका भएकाले आइपर्ने चुनौतीको सामना गर्दै सबै मिलेर नगरको विकासमा लाग्नुपर्ने बताउनुभयो । 
 
त्यस अवसरमा नगरपालिकाका कर्मचारीमध्ये उत्कृष्ट कर्मचारी सूर्यबहादुर माकजुलाई रु १० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले आव २०७३/७४ का लागि रु ११ करोड ४७ लाख ३५ हजारको बजेट सार्वजनिक गर्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ