गच्छदारले आचारसंहिता मिचे, आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण
प्रकाशित २०७४ भदौ २४ शनिबार
307
Shares
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र उनी सम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरूले आचार संहिता विपरित काम गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा २०–२५ वटा गाडीहरू र १०० वटाभन्दा बढी मोटरसाइकलसमेतको ¥याली÷जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको सन्दर्भमा आयोगबाट स्पष्टीकरण माग गरेको हो ।
आयोगको शनिबारको बैठकले “वीरगञ्ज महानगरपालिकाको निर्वाचनको क्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताहरूले निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४ (क) विपरीत गाडी तथा मोटरसाइकलहरूको ¥याली निकाली नेपाल सरकारका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले निर्वाचन आचार संहिता उल्लंघन गरेवापत किन कारवाही गर्न नपर्ने हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने र यसैगरी उल्लिखित निर्वाचन आचार संहिता उल्लंघन गरेवापत वीरगञ्ज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने” निर्णय गरेको हो ।
यसैगरी जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने सन्दर्भमा आयोगबाट “निर्वाचन आचार संहिता, २०७२ को दफा ४(ङ) विपरीत सरकारी साधन स्रोतको दुरूपयोग गरी निर्वाचन आचार संहिताको उल्लंघन गरेवापत जलस्रोत राज्यमन्त्री मा. अमर सिंह पुनलाई किन कारबाही हुनु नपर्ने हो ? सो को स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा पेश गर्न लगाउने” निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।